माघेसंक्रान्ति मेला सकियो, चार लाख भक्तजन देवघाटमा आए

“
देवघाट, माघ १ । माघे संक्रान्तिको दिन धार्मिकस्थल देवघाटधाम भरिभराउ भएको छ । देशका विभिन्न जिल्ला तथा भारतबाटसमेत देवघाटमा भक्तजनहरु आएका थिए । बर्सेनि माघ १ गते तनहुँ र चितवनको संगमस्थल देवघाटमा माघे संक्रान्ति मेला लाग्दै आएको छ ।
‘यस वर्ष चार लाखको हाराहारीमा भक्तजन आएको अनुमान गरिएको छ’ देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले भने, ‘गत सालभन्दा यसपटक भक्तजनहरु बढेका अनुमान गरिएको छ । उनले मंगलबार औंसी परेको हुनाले भक्तजन मंगलबार पनि आउने बताए ।
मेला व्यवस्थापनको तयारी गर्न देवघाट क्षेत्र विकास समितिले १५१ सदस्यीय मेला व्यवस्थापन समिति गठन गरिएको थियो । सडक डिभिजन कार्यालय भरतपुरले देवघाट मेलामा जाने सडकको निर्माण कार्य गरेको हुनाले यात्रुहरुलाई कुनै असुविधा नरहेको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।
देवघाट मेलाअवधि भर बिजुली नजाने व्यवस्था गरिएको थियो । ‘बिजुलीको समस्या नहोस् भनेर विद्युत् प्राधिकरण भरतपुरले बढी क्षमताको ट्रान्समिटर जोडेको थियौँ, मेलामा लोडसेडिङको कुनै समस्या भएनँ’ अध्यक्ष पौडेलले भने । मेलालाई थप व्यवस्थित बनाउन विभिन्न उपसमितिहरु गठन गरिएको थियो । उपसमितिहरुले मेलाको प्रबन्ध मिलाएका थिए ।
मेलामा धुनी लगाउने ठाउँको व्यवस्थापन गरिएको थियो । आकस्मिक उद्धार एवम् सुरक्षाको व्यवस्थापन, प्राथमिक स्वास्थ्य उपचार, शौचालय, बिजुलीलगायतको व्यवस्थामा कुनै कमजोरी नहुने गरी काम गरिएको अध्यक्ष पौडेलले बताए ।
‘अन्य वर्षहरुमा भन्दा यस वर्ष मेला वृहत् बनाइयो’ अध्यक्ष पौडेलले भने । मेलास्थलमा चितवनतर्फबाट २ वटा बाटो खुला गरिएको थियो । काठमाडौँ, पोखराबाट आउने दर्शनार्थीहरुले दासढुंगाको बाटो भएर देवघाट मेलामा गएका थिए । पूर्वबाट आउने दर्शनार्थीहरुले रामनगरको बाटो भएर देवघाट मेलामा पुगेका थिए । मेलाबाट फर्कने दर्शनार्थीहरुले आँपटारीको बाटो प्रयोग गरेका थिए ।
यस वर्ष वृद्धवृद्धालाई लाइनमा बस्न नपर्ने व्यवस्था गरिएको थियो । डुंगा र ¥याफ्टिङ सयरमा असक्त, अपाङ्ग, वृद्धवृद्धाहरुलाई निःशुल्क गरिएको थियो । मेला स्थलमा हिन्दी गीतहरु बजाउन रोकिएको थियो । मदिरा, धुमपान, मद्यपान र मासु सेवनलाई रोक लगाइएको थियो । मेलास्थलमा निषेध गरिएको मदिरा सेवन गरे प्रशासनले नियन्त्रणमा लिने सूचना जारी गरेको थियो । मेला स्थलमा भक्तजनको सुरक्षाको लागि पर्याप्तमात्रामा सुरक्षाकर्मी थिए ।
रामनगर, दासढुंगा, ठिमुरा र आँपटारीमा प्रवेशद्वार थियो । मेलाको केहि दिन अगाडिबाटै दर्शनार्थीहरुको आगमन हुने हुँदा त्यहीअनुसारको व्यवस्थापन गरिएको र कुनै समस्या नभएको अध्यक्ष पौडेलले बताए । उनका अनुसार मेला स्थलमा व्यवसाय गर्नेहरुले चर्को मूल्यमा सामग्रीहरु बेचबिखन भएको गुनासो बढेपछि यस वर्ष मेला व्यवस्थापन समितिले नै मुख्य सामग्रीहरुको तोकेको थियो ।
‘कालो चिया १० रुपैयाँ, पानी २० रुपैयाँ, दूध हालेको चिया १५ रुपैयाँ भन्दा बढी लिन पाएका थिएनन्’ अध्यक्ष पौडेलले भने, ‘कुनै व्यवसायले तोकिएको मूल्यभन्दा बढी रकम लिए कारबाही हुने सूचना जारी गरेपछि बढी मूल्य कुनै व्यवसायले लिएनन् ।’
“








