राष्ट्रियसभा निर्वाचनका लागि आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने

काठमाडौं, पुस २९ । राष्ट्रियसभा निर्वाचनको तयारीमा रहेको निर्वाचन आयोगले आज सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने भएको छ ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले कार्यतालिका अनुसार आज सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने जानकारी दिनुभयो । कार्यतालिका अनुसार माघ ७ गते मतदाता नामावली प्रकाशन गर्ने, माघ १० गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र माघ १५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ ।
यसैबिच, निर्वाचन आयोगमा राष्ट्रियसभाको निर्वाचनका लागि २१ राजनीतिक दलले दर्ता गराएका छन् । आयोगले राजनीतिक दललाई १५ दिनको समय दिएर दल दर्ताका लागि आह्वान गरेको थियो ।

राष्ट्रियसभाका लागि यही पुस १४ देखि २८ गतेसम्म दिइएको दल दर्ता समयमा २१ वटा पार्टीले दर्ता गराएको आयोगका प्रवक्ता ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) संघीय समाजवादी फोरम नेपालसहित २१ दलले दल दर्ता गराएका हुन् । यसैगरी नेपाल संघीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, बहुजन शक्ति पार्टी, नेपाल परिवार दल, राष्ट्रिय जनमोर्चा, नेपाल नौलो जनवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), विवेकशील साझा पार्टीसमेत रहेका छन् ।

यस्तै राष्ट्रियसभाको निर्वाचनका लागि दल दर्ता गर्नेमा नयाँ शक्ति पार्टी नेपाल, नेपाल दलित पार्टी, राष्ट्रिय जनता पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, बहुजन समाजवादी नेपाल, गान्धिवादी पार्टी नेपाल, नेपाली जनता दल र राष्ट्रिय मुक्ति आन्दोलन नेपाल पार्टीलेसमेत रहेका छन् । नेपालको संविधानको धारा २ सय ६९ बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले निर्वाचन प्रयोजनका लागि संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४८ वा ४९ बमोजिम दल दर्ता गराउनुपर्ने अनिवार्य हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =