टर्कीबाट लाखौं कमाई !


पाल्पा, माघ ६ । टर्की (चरा) पालन व्यवसायबाट यहाँका एक युवाले अहिले वार्षिक रु सात लाखसम्म आम्दानी गर्छन् ।
आजभन्दा तीन वर्ष अघि इन्टरनेटको सहायताबाट यो व्यवसाय शुरु गरेका माथागढी गाउँपालिका रुप्सेका युवा ताराप्रसाद पाण्डेले यो व्यवसायबाट अहिले वार्षिक रु सात लाखसम्म आम्दानी गर्न थालेक हुन्।
कक्षा १२ सम्मको अध्ययन गरेका पाण्डेले लुम्बिनी अञ्चलमा नै पहिलो पटक शुरु गरेको यो व्यवसायमा अहिले सबैको आकर्षण बढ्दो छ । नयाँ व्यवसाय थालनी भएकाले पनि टर्की चरा हेर्नैका लागि उनको फार्ममा धेरै जना पुग्ने गर्छन् ।
पाण्डे सानै उमेरदेखि नै सूचना र प्रविधिको खोजी गर्ने कार्यमा निकै जिज्ञासु स्वभावका थिए । “सूचना प्रविधिमा विभिन्न खोज अनुसन्धान गर्दै जाँदा टर्की नामको पक्षी फेला पारे, पक्षी नयाँ र लाभदायिक ठानेपछि व्यवसाय शुरु गरेको हुँ” पाण्डेले भने ।
पोखराबाट ५० वटा टर्की चरा ल्याएर व्यवसाय चलाएका पाण्डेले राम्रो आम्दानी गर्न सफल हुनुभएको छ । त्यही टर्की चराले आज उनलाई देश विदेशमा चिनिने अवसर सिर्जना भएकोमा खुशी व्यक्त गर्छन् ।
नयाँ व्यवसाय भएकाले शुरुमा घरपरिवार र साथीभाई कसैबाट पनि सहयोग मिलेन्, उनले भने– “अहिले उनको व्यवसायको घरपरिवार, साथीभाई सबैले खुलेरै प्रशंसा गर्ने मात्र नभई साथ र सहयोग दिन थालेको छ ।”
पाण्डेले अहिलेसम्म तीन पटक चल्ला उत्पादन गरी बजारमा बिक्री गरिसकेका छन् । १२ देखि १५ केजीसम्मको उत्पादन लिन सकिने टर्कीको मासुमा चिल्लोपना अत्यन्त कम हुने भएकाले बिक्रीका लागि बजारको समस्या नभएको पाण्डे बताउँछन् ।
स्थानीयस्तरमा यसको मासुको कमै महत्व रहे पनि पोखरा, काठमाडौँजस्ता ठूला शहरमा यसले राम्रो बजार पाएको छ । पाण्डेले टर्कीसँगै एक हजार ५०० वटा हाँस पनि पालेका छन् ।
काम र दामको खोजीमा शिक्षित युवा खाडीमुलुकमा पसिना बगाउन बाध्य छन् । आफ्नै देशमा घरपरिवारसँगै बसेर अर्थोपार्जन गर्न पाउँदा आनन्द लागेको पाण्डे भन्छन् ।
कृषि व्यवसायलाई प्रोत्साहन गर्न भनी सरकारले विभिन्न कार्यक्रम ल्याए पनि आफूले अहिलेसम्म कुनै सहयोग प्राप्त नगरेको उनले बताए । माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले कृषि व्यवसायमा लाग्ने युवालाई गाउँपालिकाबाट प्रोत्साहनका लागि सहयोग गर्ने बताउँछन् ।रासस
