म्याग्दीमा उम्मेदवारलाई लक्षित बम विस्फोट


मङ्सिर ८, म्याग्दी । म्याग्दीमा वाम गठबन्धनका उम्मेदवारलाई लक्षित गरेर आज बम विस्फोट भएको छ । बेनी नगरपालिका–२ तोरा खेतमा नेकपा (एमाले)का प्रतिनिधिसभाका उम्मेदवार भूपेन्द्रबहादुर थापा चढेको गाडीलाई लक्षित गरेर बम विस्फोट भएको हो ।
बेनपा–२ भकुण्डेमा कार्यकर्ता भेटघाट गरेर रत्नेचौर तर्फ जाने क्रममा गाडीभन्दा करिब सात मिटर अगाडिको सडकमा विस्फोट भएको थापाले बताए । आजे पौने १ बजेतिर ठुलो आवाज आउने गरी विस्फोट भएपछि उम्मेदवारको टोलीले प्रहरीलाई जानकारी गराएका थिए ।
विस्फोटबाट कुनै क्षत्ति भने भएको छैन । विस्फोट भएको ठाउँको सडकमा खाडल परेको छ । विस्फोटको सूचना पाउने बित्तिकै सुरक्षाकर्मीको टोली घटनास्थल पुगेर अनुसन्धानमा जुटेको प्रहरी नायब उपरीक्षक बसुन्धरा खड्काले बताइन ।
सोही क्षेत्रमा कात्तिक २८ गते नेपाली काँग्रेसका प्रतिनिधिसभाका उम्मेदवार खम्बिर गर्बुजालाई लक्षित गरेर विस्फोट भएको थियो । चुनाव विरोधी गतिविधि गरिरहेको नेत्रविक्रम चन्द नेतृत्वका नेकपाका कार्यकर्ताले विस्फोट गराएको सुरक्षा निकायले शङ्का घटनामा संलग्नको पहिचान हुन सकेको छैन ।
