बैतडीमा अनौठो चलन, जेठो सन्तान छोरा भए गाउँलेलाई खसी खुवाउनुपर्ने

विनोदसिंह विष्ट, बैतडी । प्रदेश नं ७ अर्थात् सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीको एउटा गाउँमा अनौठो चलन छ । जिल्लाको तल्लोस्वराडमा पर्ने मेलौली नगरपालिका वडा नं ९ असुर गाउँमा जेठो सन्तानकारुपमा छोरा जन्माएका आमाबुवाले हरेक वर्ष तिहारको औँसीका दिन गाउँलेलाई खसी काटेर खुवाउनै पर्छ । यदि त्यसो नगरे छोरालाई अशुभ हुने जनविश्वास रहेको छ । यस्तो परम्पराले सामाजिक तथा लैङ्गिक विभेदलाई बढावा दिएको भन्दै केही स्थानीयले बन्द गर्न मागसमेत गरेका छन् ।

परम्परा रोक्न गाउँले नै पुगे प्रशासन

अहिले आएर स्थानीयस्तरमै यसको विरोधमा आवाज उठ्न थालेको छ । विगत पाँच पुस्तादेखि चल्दै आएको उक्त परम्पराले सामाजिक तथा लैङ्गिक विभेदलाई बढावा दिएको भन्दै केही स्थानीयले बन्द वा परिमार्जन गर्न माग गरेका छन् । स्थानीयले यो परम्परा बन्द गर्न माग गर्दै मङ्गलवार विभिन्न सरोकार भएकालाई ज्ञापनपत्र बुझाएका छन् ।

जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय, पत्रकार महासङ्घ, मेलौली नगरपालिका र अन्तरपार्टी महिला सञ्जाललाई ज्ञापनपत्र बुझाइएको हो । यो परम्पराले समाजमा गरिब र दलित समुदायमाथि आर्थिक भार परेको, लैङ्गिक विभेदलाई बढावा दिएको भन्दै केही स्थानीयले यसलाई रोक्न माग गरेका हुन् ।

छोरा हुँदा हरेक वर्ष तडकभडकका साथ खसी काट्दा छोरीमाथि विभेद हुने भएकाले यो परम्पराले लैङ्गिक विभेद निम्त्याएको स्थानीय जनकराज भट्टले बताए । “छोरी भए दुःख्मनाउ गर्ने तर छोरा भए पर्वकैरुपमा हरेक वर्ष तिहारमा गाउँमा दर्जनभन्दा बढी खसी काटिन्छन्”– उनले भने, “यसले छोरीमाथि विभेद भएकाले हामीले रोक्ने प्रयास गरेका हौँ ।”

अचम्मको कुरा के भने, दलित परिवारमा पनि पहिलो सन्तान भए हरेक वर्ष तिहारको औँसीमा खसी काट्नुपर्छ । तर, त्यो खसी दलित समुदायलाई होइन, गैरदलितले मात्रै बाँडेर खाने चलन छ । यसले जातीय विभेद पनि बढाएको ज्ञापनपत्रमा उल्लेख छ । “यो परम्पराले समाजमा द्वन्द्व हुने र जातीय विभेदलाई बढावा दिएको छ”– स्थानीय भीम भट्टले भने ।

प्रशासनलाई ज्ञापनपत्र

मेलौली नगरपालिका वडा नं ९ असुर गाउँका ७१ जनाको हस्ताक्षरसहितको ज्ञापनपत्र बुझाउँदै स्थानीयले यो रुढीवादी परम्परा रोक्न आवश्यक पहल गरिदिन प्रशासनलाई अनुरोध गरेका छन् । त्यहाँका युवाले प्रमुख जिल्ला अधिकारीलाई यस्तो प्रथाले समाजमा विकृति फैलाएको भन्दै बन्द गर्न माग राख्दै ज्ञापनपत्र बुझाएका हुन् ।

अहिलेको २१ औँ शताब्दीमा पनि लैङ्गिक विभेद, छुवाछुतले सामाजिक द्वन्द्व बढ्दै जाने तथा नेपालको संविधानमा महिला तथा बालबालिका अधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन, नीति तथा घोषणाकाविरुद्घ रहेकाले यसको अन्त्य गर्नुपर्ने स्थानीय बासिन्दाले जिल्ला प्रशासन कार्यालय, बैतडीमा बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

यस्तै, छोरा र छोरीमा विभेद हुनेगरी पहिलो छोरा जन्मने घरले मात्र खसी काटी खुवाउने हुनाले यो परम्पराले लैङ्गिक विभेद बढेको कुरा बेलाबेलामा उठ्दै आएको र सो सार्वजनिकस्थलमा दलितलाई छुवाछुतको दृष्टिले हेरिने यस्ता कूरीतिले दलित र गैरदलितबीच द्वन्द्व सिर्जना हुनेसमेत ज्ञापनपत्रमा उल्लेख छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले यस्ता प्रथाले समाजमा विकृति फैलाउने हुँदा यस्ता संस्कारलाई हटाउनुपर्ने बताए । “सामाजिक विभेदलाई बढावा दिने परम्पराविरुद्ध नागरिक सचेत भएको देख्दा खुसी लाग्यो”– प्रजिअ जोशीले भने, “यस्ता कुसंस्कार हटाउन प्रशासन तयार छ ।” समाजमा रहेका यस्ता कुसंस्कारले विकृति ल्याउने भन्दै सरोकार भएका सबैले चिन्तासमेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *