मारवाडी समुदायका एक्ला उम्मेद्वारको चाहना


असार ४, विराटनगर । नेपाली राजनीतिमा एकाध बाहेक अधिकांश मारवाडी समुदाय आफ्नै व्यापार व्यवसायमा रमाउँदा राजनीतिमा सदैव पछि परेका छन् । तर, विराटनगरका युवा उद्यमी महेश वाहेतीले समाजसेवा गर्न तथा राजनीतिक रूपमा अघि बढ्नका लागि आँट देखाएका छन् ।
विराटनगर २ तीनपैनीका स्थायी बासिन्दा युवा उद्यमी महेश बाहेतीले आफ्नो क्षेत्रको विकास गर्न तथा मारवाडी समुदायलाई समेत राजनीतिमा आउनुपर्छ भन्ने सकारात्मक सन्देश प्रवाह गर्न स्थानीय निकायको निर्वाचनमा उम्मेदवारी दिएका हुन् । उनले विराटनगर महानगरपालिका वडा नं. २ बाट अध्यक्षको उम्मेदवारी दिएका हुन् ।
पछिल्लो समय राजनीतिमा शिक्षित र योग्यता भएका व्यक्तिहरूको खडेरी लागेको बताउँदै शिक्षित वर्ग र योग्य व्यक्तिलाई राज्यको निकायमा स्थान दिनुपर्ने भन्दै उम्मेदवारी दिएको दाबी गर्छन् ‘देश विकास गर्न, समाजमा सकारात्मक विचार दिनसक्ने व्यक्तिहरू नेपाली राजनीतिमा देखिएनन् ।’ उनले भने ।
यति बेला विराटनगरका बाहेतीको उम्मेद्वारीमा मारवाडी समुदायमा समेत उत्सुकता छाएको छ । विराटनगर ३ का कृष्णलाल अग्रवाल राजनीतिमा मारवाडी समुदाय आउनुपर्ने बताउँछन् । ‘देशको अर्थतन्त्र चलायमान बनाउन हाम्रो समुदायको ठुलो भूमिका भए पनि राज्यले कहिल्लै राम्रो व्यवहार गरेन । अब राजनीतिक अधिकार प्राप्तिका लागि आफैँ अघि बढ्नुपर्ने समय आएको छ ।’ उनले भने ।

‘हामी शिक्षित युवा वर्ग राजनीति विग्रियो भनेर गाली गर्दै बस्नुभन्दा आफैँ राजनीतिमा लागेर सुधार गर्नु ठुलो कुरा हो’

फाइनान्स, हुमन रिर्सोस र हस्पिटल म्यानेजमेन्टमा एमबिए गरेर विराटनगरमै व्यवसाय गर्दै आएका बाहेतीले देश र समाजको विकासमा नयाँ पुस्ताहरु अग्रसर हुनुपर्ने जिकिर गर्दै अब पुरानो पुस्ताबाट देश नबन्ने ठोकूवा गरे । ‘हामी शिक्षित युवा वर्ग राजनीति विग्रियो भनेर गाली गर्दै बस्नुभन्दा आफैँ राजनीतिमा लागेर सुधार गर्नु ठुलो कुरा हो ।’ आफूले वडाध्यक्षको उम्मेदवारी दिनुको कारण प्रष्ट्याउँदै उनले भने ।
बाहेतीले फोरम लोकतान्त्रिक नेपाल (विजय गच्छदार) बाट विराटनगर वडा नं. २ बाट अध्यक्ष पदको उम्मेदवारी दर्ता गराएका छन् । फोरमले विराटनगरमा नेकपा एमालेसँग तालमेल गरेको छ ।
बाहेती केही महिना अघि मात्र दश वर्षे रणनितिक योजना बनाएर फोरम लोतान्त्रिकमा प्रवेश गरेका थिए ।
यसअघि स्वतन्त्र रूपमा वडाध्यक्षमा उठ्ने घोषणा गरेका बाहेतीले विराटनगरको विकासमा आफ्ना एजेण्डालाई समर्थन गर्ने पार्टीबाट उम्मेदवारी दिने बताएका थिए । बाहेतीले विराटनगर र वडा नंं २ को विकासमा आफूले उठाएका विचार र एजेण्डा फोरम लोकतान्त्रिकसँग मिलेकोले सहकार्य गरिएको बताए ।
बाहेतीले विराटनगर २ नं. वडामा विकासका सबै पूर्वाधार पु¥याउने, गरिबी हटाउने कमजोर आर्थिक अवस्था भएर शिक्षाको पहुँचमा नपुगेका समुदायका बालबालिकालाई विद्यालयसम्म पुग्ने वातावरण निर्माण गर्ने र वडालाई विराटनगरकै नमुना वडाका रूपमा विकास गर्न आफू लागि पर्ने बताए ।
विराटनगरमा फोरमले सूचि चौधरीलाई उपमेयरमा उठाएको छ भने, मेयरमा नेकपा एमालेका विनोद ढकाललाई समर्थन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =