नेपाली काँग्रेस कैलालीका क्षेत्रीय सभापति सहित ३४ जनाले दिए राजीनामा

काठमाण्डौ । असार १४ गते दोश्रो चरणमा हुन लागेको स्थानीय तह निर्वाचनलाई लिएर केन्द्रले एकलौटी निर्णय गरेको भन्दै नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति लगायत ३४ जनाले सामुहिक राजीनामा गरेका छन् ।

क्षेत्र नम्बर ३ क्षेत्रीय सभापति जीवनप्रसाद श्रेष्ठले भजनी नगरपालिकाको प्रमुख, उप प्रमुख लगायत वडा अध्यक्षको टिकट वितरणमा अधिनायकबादी शैलीमा गुटको राजनीति गर्ने केहि नेताहरुले एकलैा ढंगबाट टिकट वितरण गरेकोले पार्टीको कुनैपनि पदमा नरहने गरि राजीनामा दिएका बताए । उनले पार्टीका लागि निरन्तर रुपमा बलिदान दिएका जिम्मेवार साथीहरुलाई उपेक्षा गरेको भन्दै स्वतन्त्र रुपमा अगाडि बढ्ने निर्णय गरेको बताए ।
भजनी नगरपालिकामा नेपाली काँग्रेसबाट मेयरका आकाँक्षी पूर्व गाविस अध्यक्ष तथा महाधिवेशन प्रतिनिधि रामनाथ उपाध्यायले पार्टीले तानाशाही रुपमा गरेको निर्णयको विरुद्धमा पार्टीबाट राजीनामा दिएको बताए ।
यसरी राजीनामा दिनेमा समिति सदस्य सरिता उप्रेती, पूर्व क्षेत्रिय सभापति क्षेत्र नं. ३ तेजराम चौधरी, नगर सचिव टेकराज न्यौपाने, पूर्व जिल्ला कार्य समिति सदस्य प्रमोद उप्रेती लगायतका रहेका छन् ।








