च्याम्पियन्स ट्रफी : आजको खेल कि त भारतको समर्थक कि त विरोध

जत्रो लक्ष्य लियो त्यसले दिने दबाब र तनाब पनि उत्रिकै हुन्छ । जस्तो भारतको क्रिकेटलाई हेरौं । च्याम्पियन्स ट्रफी बोकेर मात्र घर आउने लक्ष्य लिएर बेलायत उडेको भारत समूह चरणको खड्गो नै काट्दैन कि भनेजस्तो अवस्थामा पुग्यो । धरमरको त्यो अवस्थामा टिमप्रतिका टिप्पणीलाई मात्र हेर्दा पनि त्यसले कति दबाब र तनाव दिएको थियो भन्ने बुझ्न सकिन्छ । सजिलै अन्तिम चारमा पुग्ला भन्ठानिएको टिम अन्तिम खेलमा दक्षिण अफ्रिकालाई हराउँदा मात्र सेमिफाइनलमा पुग्ने अवस्था आउँदा टिम प्रतिको टिप्पणी खेलाडी र कप्तान हुँदै कोचसम्म पुगेको थियो ।

तर, उस्तै अवस्थाबाट गुज्रिएको बंगलादेशी टिमबारे त्यस्तो खासै केही सुनिएन । यसको मुख्य कारण हो बंगलादेशले उपाधिको खासै आशा नगर्नु । समूह चरणबाटै घर फर्किनुपर्ला भनेर खेलाडीका आफन्त नै घर फर्किसकेको अवस्थामा अन्तिम चारमा छानिनु बंगलादेशी टिमका लागि बोनश जस्तो थियो शायद ।

भन्ने गरिन्छ कि क्रिकेटमा रुची राख्ने मान्छे कि त भारतको समर्थक हुन्छन् कि त विरोधी । यी दुई कित्ता बाहेकका क्रिकेट समर्थक आक्कलझुक्कल मात्र भेटिन्छन् । भारतको हार वा जितको कुरामा उसको क्रिकेटसँगै राजनीति पनि घुस्ने गर्छ ।  त्यही भएर भारतको खेल हुने दिन क्रिकेट समर्थक कि त उसले जितोस् भनेर कामना गरिरहेकोमा हुन्छन् कि त उसको हारका लागि गच्छे अनुसारको धुपध्वाँर गरिरहेका हुन्छन् ।

आज त्यस्तै मध्येको एक दिन हो । जहाँ कि त भारतको जितको कि त हारको कामना हुनेछ । भारतको हार भन्नाले बंगलादेशको जितको कामना भनेर बुझेपनि हुन्छ । आजको खेलमा जसले जिते नि जितोस् भन्ने कमै मात्र छन् ।

खेल त्यसमा पनि क्रिकेटको कुनै भर हुँदैन । तर, यो भन्न सकिन्छ कि क्रिकेटमा भारत, बंगलादेश भन्दा माथि छ, शायद निकै माथि । तर, यसपटक च्याम्पियन्स ट्रफीमा त्यस्ता नपत्याउँदा नतिजा आइरहेका छन् । जस्तो कि उपाधि नै जित्ने ठानिएको इंग्ल्याण्ड सेमिफाइनलमै थन्किनु । दक्षिण अफ्रिका र न्युजिल्याण्ड मात्र होइन अझै बलियो ठानिएको अष्ट्रेलिया समूह चरणबाटै घर फर्किनु । भारतलाई ३ सय १२ रनको लक्ष्य चेज गर्दै श्रीलंकाले हराउनु आदि ।

भारत र बंगलादेशको क्रिकेटको कुरा गर्दा सन् २००७ को मार्च १७ तारिखको सम्झना सँधै हुन्छ । जुन दिन बंगलादेशले भारतलाई हराएर इतिहास रचेको थियो । टिनएजर्स मै रहेका वा भर्खर त्यो खुड्किलो पार गरेका खेलाडी रहेको बंगलादेशले एक से एक भेट्रानले भरिएको भारतलाई तिरिमिरी बनाइदिएको थियो ।

राहुल द्रविडको कप्तानीमा रहेको भारतीय टिममा सचिन तेन्दुल्कर, सौरभ गांगुली, वीरेन्द्र सेहवाग, जाहिर खान, रोविन उथप्पा, मुनाफ पटेल, हरभजन सिंह र अजित अगरकर जस्ता अन्तराष्ट्रिय क्रिकेटका हस्ती थिए । अर्कातिर भर्खरै विश्वकप क्रिकेटको अनुभव बटुल्दै गरेका खेलाडी रहेको टिम बंगलादेश थियो ।

यो खेलमा भारतले बंगलादेशसँग १ सय ९१ रन मात्र बनाउन सक्यो । जुन लक्ष्य ४८ ओभर ३ बलमा बंगलादेशले ५ विकेट गुमाएर भेट्टायो । १८ बर्षका तमिम इकवाल, २० वर्षका मुसफिकुर रहिम र बिसै वर्षका सकिब अल हसनले अर्धशतक पुरा गर्दै सनसनी मच्चाएका थिए ।

सौरभ गांगुलीले ढिलो गतिमा बनाएको ६७, युवराज सिंहको ४७, जाहिर खानको नटआउट १५ र राहुल द्रविडको १४ रन बाहेक अरु कसैले पनि दोहोरो अंक छुन सकेका थिएनन् । बंगलादेशका मासराफे मोर्तजाले ४ तथा अब्दुर रज्जाक र मोहम्मद रफिकले तीन/ तीन विकेट लिएका थिए ।

आजको खेलमा भारतकै पल्ला भारी छ । यसको मुख्य आधार भारतको प्रदर्शनको विश्लेषण नै हो । तर, खेल त्यसमापनि क्रिकेटबारे कुनै अनुमान गर्न सकिन्न। किनपनि भने अहिलेको भन्दा बलियो टिम रहेको सन् २००७ को भारतलाई अहिलेको भन्दा शायद कमजोर रहेको बंगलादेशले हारको स्वाद चखाइसकेको छ ।

भारतले बंगलादेशसँग खेलेपिच्छे समर्थकहरु इतिहास सम्झिन्छन् र आफ्नो जितको गर्विलो रेकर्डमा दंग पर्छन् । तर , भारतले हारोस् भन्नेहरु बंगलादेशले हराएको त्यो एउटा खेल सम्झिन्छन् र भन्छन् इतिहास त भारतले हारेको पनि त छ नि । यसपटक भारतले हारोस् भन्ने कोटीका समर्थकका लागि दुई वटा विकल्प छन् । पहिलो आजै हारोस्, र दोश्रो आज हारेन भने फाइनलमा हारोस् । फाइनल अर्थात पाकिस्तानसँग ।

साभार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *