निर्वाचनमा बालबालिकाहरुलार्ई प्रयोग नगर्ने प्रतिबद्धता

विष्णु जोशी, धनगढी । प्रमुख राजनीतिक दल तथा नागरिक अगुवाहरूले आसन्न निर्वाचनमा बालबालिकालाई प्रचारप्रसार वा अन्य काममा प्रयोग नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । राजनीतिक दल तथा नागरिक अगुवाहरूले बालबालिका तथा विद्यालय शान्ति क्षेत्र अवधारणाको पूर्ण कार्यान्वयनका लागि आफूहरू कटिवद्ध रहेको बताएका हुन् ।

राष्ट्रिय मानवअधिकार आयोग र बाल हेल्पलाइन (सिविन) ले बुधवार धनगढीमा आयोजना गरेको एक कार्यक्रममा राजनीतिकर्मी, नागरिक अगुवा लगायतले ६ बुँदे प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा नेपाली काँग्रेस कैलालीका उपसभापति प्रकाशबहादुर बमले आफ्नो पार्टीले कुनै पनि बहानामा निर्वाचनमा बालबालिकाको प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरिसकेको बताए । उनले नेपाली काँग्रेसले बालअधिकारको संरक्षण र संवद्र्धनलाई सधैँ संवेदनशील ढङ्गले प्राथमिकतामा राखेको चर्चा गरे । उनले विगतका चुनावमा बालबालिकाको प्रयोग हुने गरेको भए पनि पछिल्लो समय सुधार हुँदै गएको बताए ।

नयाँ शक्ति पार्टीका प्रतिनिधि हिमालबिक्रम विष्टले १६ वर्ष मुनिका बालबालिकालाई आफ्नो पार्टीले सदस्य नबनाउने नीति लिएको बताए का छ्न । उनले आफ्नो पार्टी बाल अधिकारप्रति गम्भीर भएकाले निर्वाचनमा बालबालिकाका मुद्दालाई प्राथमिकतामा राखेको बताउनु भयो । विवेकशील साझा पार्टीका प्रतिनिधि दानबहादुर रावलले आफ्नो पार्टीको चुनावी घोषणापत्रमा नै बालबालिकालाई निर्वाचनमा प्रयोग नगर्ने उल्लेख गरेको जनाएका छन् । उनले आफ्नो पार्टीले विद्यार्थी, शिक्षकको सङ्गठन बनाएर राजनीति नगर्ने प्रतिबद्धता व्यक्त गरिसकेको बताए ।

कार्यक्रममा सिविन नेपालका क्षेत्रीय संयोजक माधव लोहनीले विगतका निर्वाचनमा पनि राजनीतिक दलहरूले चुनावमा बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्धता व्यक्त गरे पनि व्यवहारिक रूपमा कार्यान्वयन नगरेको पाइएको बताए । उनले केही महिनाअघि भएको स्थानीय तह निर्वाचनमा पनि राजनीतिक दलहरूले बालबालिकाको प्रयोग गरेको पाइएको बताए । उनले भने– दलहरूले उम्मेदवारी दर्ता, मतदानको दिन र मतदानपछिको विजयी जुलुसमा पनि बालबालिकाको प्रयोग गरेको पाइयो, त्यसैले आसन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा यस विषयमा संवेदनशील बन्नु पर्दछ ।

कार्यक्रम राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय धनगढीका प्रमुख दीपकजंगध्वज कार्कीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा महिला तथा बालबालिका कार्यालय कैलालीका प्रमुख सन्ध्या सिंहले दलहरूले प्रतिबद्धता मात्र व्यक्त गर्ने, तर व्यवहारिक रूपमा कार्यान्वयन नगर्ने बानीले अझै पनि कुनै न कुनै किसिमले चुनावी सभामा बालबालिकाको प्रयोग भइरहेको पाइको बताइन् ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कैलालीका अध्यक्ष जगत साउँदले अभिभावकहरू सचेत नहुँदा पनि दलहरूको चुनावी सभामा बालबालिकाको उपस्थिति हुने गरेको पाइएको बताए । कार्यक्रममा कैलाली बार एसोसिएसनका अध्यक्ष प्रेम चन्द, गैरसरकारी संस्था महासङ्घ कैलाली अध्यक्ष हेमकर्ण विक, नेपाल रेडक्रस सोसाइटी कैलालीका सभापति उत्तम जोशी, ७ नम्बर प्रदेश नियोकका संयोजक देवी खनाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *