लोकसंगीतमा विकृति बढेको छ : लोकगायक नवीन पौडेल

नेपाली समाजको वास्तविकताको चित्रण गर्न सिपालु लोकगायक नवीन पौडेलले ‘बैँस आको छोरीलाई जोगाउनै गाह्रो’ भन्ने बोलको गीत युट्युवमार्फत सार्वजनिक गरेका छन् । समाजमा देखिएको विकृति तथा विसंगतिप्रति दह्रो झाप्पड हान्ने पाल्पाली गायक पौडेलले यसअघि ‘जान्नँ म त त्यो घर’ ‘साथीभाइको बिहे भयो, भाइको भयो छोरो’ ‘युवा पलायन भैदिए भने देश धान्ने कल्ले हो’ ‘यही वर्षभित्रमा नयाँ पार्टी खोल्छु’ लगायतका दर्जनौँ गीत बजारमा ल्याइसकेका छन् । पौडेल प्रस्तोता समाज नेपालका कार्यकारी सदस्य, अन्तर्रा्ष्ट्रिय कलाकार मञ्च नेपाल च्याप्टरका उपाध्यक्ष, राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान नेपालका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका छन् । प्रस्तुत छ– यथार्थपरक, देशप्रेमी र नारीवादी गायकका रुपमा आफ्नो परिचय बनाएका लोकगायक पौडेलसँग मकालु खबर अनलाइनका सहसम्पादक किशोर खनालले गर्नुभएको साक्षात्कार :

‘बैँस आको छोरीलाई जोगाउनै गाह्रो’ भन्ने गीत कस्तो प्रकारको गीत हो ?

यो गीत सामाजिक यर्थाथवादी नारीको पीडामा आधारित गीत हो । नारी स्वतन्त्रता वकालत गरेको गीत हो । छोरीलाई हाम्रो समाजले हेर्ने दृष्टिकोण फरक छ, त्यो गलत हो भन्ने भाव गीतले बोकेको छ । बाबुआमाबाटै छोराछोरीमाथि भेदभाव भएको छ । गीतले त्यही भेदभावलाई देखाउन खोजेको छ । यसको छायाङ्कन हेरेर थाहा हुन्छ, बाबुले छोरालाई जे गर्न पनि छूट दिएको छ, छोरीलाई बाहिर निस्कन पनि दिँदैन । यो नेपाली समाजको वास्तविकता हो । गीतले त्यही देखाएको छ । एउटा यस्तो बाबु हुन्छ, जसले छोरालाई हरेक कुरामा छूट दिन्छ । तर, छोरीलाई घरबाट फुस्कन दिँदैन । पढ्न गएकी छोरी कति बेला आउँछे भनेर छोरीको बाटो हेरेर बस्छ । छोरीलाई बैँस आयो जोगाउनै गाह्रो भयो भनेर गाली गर्छ ।

 

यो गीतले कुनै पनि बाबुआमाले छोरीलाई नियन्त्रण गर्नुहुँदैन भनेको हो त ? यसले अर्को विकृति पनि निम्त्याउला नि ?

हरेक बाबुआमाले छोराछोरी गलत बाटोमा हिँड्न थाले भने खबरदारी गर्नुपर्छ । नियन्त्रण गर्नुपर्ने ठाउँमा गर्नु पनि पर्छ । तर, छोरीलाई अधिकार नै नदिएर नियन्त्रण गर्ने होइन । गीतले छोरीले पाउने अधिकारमा नियन्त्रण नगर्न भनेको हो । छोराछोरी समान छन् । गलत बाटोमा हिँड्न खोजे भने नियन्त्रण त गर्न प¥यो, तर छोरीलाई अधिकार नै नदिएर नियन्त्रण गर्न हुँदैन । छोरालाई सबै अधिकार दिने तर छोरीलाई अधिकार नै नदिई नियन्त्रणमा लिने, यो प्रचलनको गीतले विरोध गरेको छ ।

 

गीतले नारीलाई चाहिनेभन्दा बढी स्वतन्त्रता दिएको छ नि ?

त्यस्तो छैन, छोरीले कोही केटासँग मायाप्रेम गरेकी छन् । छोराले मायाप्रेम गर्न पाउने छोरीले नपाउने त्यो त राम्रो होइन । गीतमा छोरीले छोराछोरी समान हुन् भनेकी छन् । छोरीले यहाँ स्वतन्त्रता खोजेकी हुन्, छाडा हुन खोजेकी होइनन् । नेपाली समाजले हुर्केको छोरीलाई बढी नियन्त्रण गर्न खोज्छ । तर, ती छोरीले बुझेका छन् नेपाली संस्कृति । छोरी छाडा हुन खोज्दिनन्, स्वतन्त्रता खोज्छिन् । गीतले त्यही भावना बोकेको छ । नारीले बढी खोजेको होइन, आफ्नो अधिकार खोजेका हुन् ।

 

तपाईं देशभक्ति गीत गाउने गायक यसपटक नारीवादी गीत गाउनुभयो नि ?

मेरो यसअघि राष्ट्रवादी गीतहरु सार्वजनिक गीत थिए । यसपटकको गीत नारीवादी भएको छ । सधैँ एकै धारका गीत गाउँदा खल्लो महसुुस भयो । त्यसैले, यसपटक नारीवादी गीत गाएको हो । एकै खालको गीत गाउँदा मोनोटोनस हुन्छ । त्यसैले, नयाँ धारको गीत गाएको हो ।

 

यसअघि तपाईंले गाउनुभएका गीतहरुले समाज परिवर्तनमा कस्तो भूमिका खेलेका छन् ?

म मायाप्रीतिको गीतभन्दा देश दुखेको गीत गाउँछु, गीतमार्फत जीवन र जगत्का समस्या पोख्छु । समाजको भावनासँग डुबेर देशलाई देशविदेशमा चिनाउने खालको गीत गाउँछु । पक्कै पनि यस्ता गीतले समाज परिवर्तनमा भूमिका खेलेका छन् । बेरोजगारीको समस्या पनि मैले गीतमा गाएको छु । लखरलखर हिँडेर समय बिताएको अवस्था धेरै नेपालीको छ । जागिर पाउँदैनन् के गर्ने ? त्यसैले, मैले समाजको वास्तविकता झल्काउने खालको गीत गाएको हो । यस्तो गीत फेरि आउँदै छ । ५० वटा गीत तयारी अवस्थामा छ । बिस्तारै सार्वजनिक हुँदै जान्छ ।

 

तपाईंले विभिन्न जातजातिको गीत गाए पनि चेपाङ जातिको गीत गाउनुभएको छैन नि, किन ?
मैले विभिन्न जातजातिको गीत गाएको छु, तर चेपाङ जातिको गीत गाउन पाएको छैन, चेपाङको संस्कृतिबारे बुझेर गीत गाउन मन लागेको छ, अवसर जुरेको छैन । जापान, दुबईलगायत १४ वटा देशमा नेपालको वास्तविकता झल्काउने गीत गाएँ, तर पनि चेपाङ जातिको गीत गाउन पाइनँ, दुःख लागेको छ । अब अवश्य चेपाङ जातिको गीत गाउँछु ।

 

लोकगीतमा छाडापन बढी भित्रेको छ भनिन्छ नि ?
पछिल्लो समय लोकसंगीतमा विकृति बढेको छ । शब्दमा छाडापन छ, परिवारमा सबै बसेर हेर्न मिल्ने दृश्य छैन । लोकदोहोरीमा फोहोरीपन बढ्दै गयो । देश दुखेको गीत गाउन छोडियो । मायाप्रीतिका गीतमात्र आउन थाले । त्यही मायाप्रीतिका गीतमा छाडापन भित्रियो । तर, मैले त्यस्तो छाडा एउटा गीत पनि गाएको छैन । गाउने पनि छैन । यथार्थपरक गीतमात्र गाउने छु ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *