दरबारमार्गका ब्राण्डेड शपमाथि कारबाही प्रकृया अघि बढ्दै

असाेज २०, काठमाडौँ । आपूर्ति मन्त्री शिवकुमार मण्डलसहितको टोलीले दसैँ अघि दरबारमार्गमा रहेको ब्राण्डेड शपमा अनुगमन गर्दा अस्वभाविक मूल्य लिएर सामान बिक्री गरिएको भन्दै शील लगाइएको पसललार्इ कालाेबजारी एेन अनुसार कारबाही गरिने भएकाे छ । आपूर्ति व्यवस्थापन विभागले कालोबजारी ऐन अनुसार कारबाही अघि बढाउन प्रहरीलार्इ सबै कागजपत्र हस्तान्तरण गरेसँगै कारबाही प्रक्रिया अघि बढेकाे हाे ।

‘हामीले अनुगमन गरेर शील लगाएका पसललार्इ कालोबजारी ऐन अनुसार कारबाही गर्न प्रहरीलार्इ सबै कागजपत्र दिइसकेका छौँ’ विभागका महानिर्देशक कुमारप्रसाद दाहालले भने, अब प्रहरीले ऐनमा टेकेर कारबाही अघि बढाउँछ ।’

प्रहरीले पनि दरबारमार्गका पसललार्इ कालोबजारी ऐन अनुसार कारबाही अघि बढाउन विभागबाट पत्र आएको जानकारी दिएको छ । महानगरीय प्रहरी परिसरका डिएसपी वेदबहादुर पाण्डेले दरबारमार्गका ९ वटा पसल, न्यूरोडका दुर्इ र अन्य चार वटा पसलका बयानसहितका कागजपत्र विभागबाट आइसकेको जानकारी दिए ।उनका अनुसार कागजपत्रका आधारमा मुद्दा दर्ता भएको र अध्ययन अघि बढिसकेको छ । पाण्डेले अनुगमनमा प्रहरीको संलग्नता नरहँदा कारबाही प्रक्रिया ढिला भएको बताए ।


‘दरबारमार्गका ब्राण्डेड शपमा गरिएको अनुगमनको समयदेखिनै हाम्रो सहभागिता रहेको भए कारबाही प्रक्रिया दसैँ अगाडी नै सकिन्थ्यो र कालोबजार ऐन अनुसार कारबाही भइसक्थ्यो’ पाण्डेले बताए । उनका अनुसार थप अनुसन्धानका लागि व्यवसायीसँग पुन: बयान लिएर कालोबजारी ऐन अनुसार कारबाही अगाडी बढाउनेछौं ।

‘कागजात बलियो भए मुद्दा पनि बलियो हुन्छ कागजात कमजोर छ मुद्दा कमजोर हुन्छ । त्यसैले हामीले राम्रो अध्ययन गरेर मात्रै कारबाही प्रक्रिया अगाडी बढाउँछौं, उनले भने । कालोबजारी ऐन अन्तर्गत मुद्दा अगाडी बढाउन सरकारी वकिलको स्वीकृति समेत लिइसकेको पाण्डेले बताए । आपूर्ति मन्त्री शिवकुमार मण्डलसहितको टोलीले दसैँ आउनु केही साताअघि दरबारमार्गमा रहेको ब्राण्डेड शपमा अनुगमन गर्दा अस्वभाविक मूल्य लिएर सामान बिक्री गरिएको भन्दै पसलमा शील लगाइएको थियो ।

दरबारमार्गका व्यवसायीले उच्च राजनीतिक तहमा दबाब दिएपछि झन्डै १८ दिनपछि असोज ८ गते पसलको शील खुलेको थियो । दरबारमार्गमा रहेका वेन्टले, नाइक, वान स्टोर, पुमा लगायतका पसलबाट तोकिएको भन्दा धेरै गुणा मुनाफा लिएर बिक्री गरेको अनुगमनको क्रममा खुलेको थियो ।
विजमाण्डूकाे सहयाेगमा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *