चितवनका चार चेली बने सांसद

भरतपुर, पुस १६ । चितवन जिल्लाका चार जना चेलीहरु सांसद बनेका छन् । विभिन्न दलहरुले समानुपातिक कोटाबाट महिलालाई सांसदमा छनौट गरेपछि चितवनमा पनि ३३ प्रतिशत महिला प्रतिनिधित्व पुगेको छ ।

चितवनमा प्रदेश तथा प्रतिनिधितर्फ प्रत्यक्ष उम्मेदवारमा एक जना महिलाले पनि लड्ने अवसर पाएका थिएनन् । तर, समानुपातिकतर्फ धमाधम चितवनका चेलीहरु सांसदमा चुनिएपछि चितवनमा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत पुगेको हो ।
चितवनमा ३ क्षेत्र छन् । प्रत्येक एक क्षेत्रमा २ वटा प्रदेश हुन्छन् ।

ठूला दलहरुबाट प्रत्यक्षतर्फ लड्ने सबै उम्मेदवार पुरुष थिए । प्रत्यक्षमा लड्ने महिलाको उम्मेदवार शून्य थियो । चितवनले प्रतिनिधि र प्रदेश गरी प्रत्यक्षतर्फ ९ सांसद पाएको छ । निर्वाचित भएर जानेहरु सबै ९ सांसद पुरुष छन् ।

चितवनमा प्रत्यक्षबाट महिला प्रतिनिधि शून्य भए पनि समानुपातिकले यहाँको महिला प्रतिनिधित्वको साख जोगाएको छ । चितवनमा ३३ प्रतिशत महिला प्रतिनिधित्व पुगेपछि हरेक ठाउँमा महिलाको सहभागिता रहने आशा गरिएको छ ।

प्रदेश सभातर्फ नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, राप्रपा (प्रजातान्त्रिक) लगायतका दलहरुले समानुपातिकबाट महिला सांसद चुनेका छन् । नेकपा एमालेबाट समानुपातिकतर्फ पार्वती सिलवाल सांसद बनेकी छन् । उनी प्रदेश ३ बाट सांसद बनेकी हुन् । भरतपुर–११ निवासी पार्वती सिलवाल एमाले जिल्ला कमिटी सचिवालय सदस्य हुन् । उनी विभिन्न सामाजिक संघसंस्थामा आबद्ध भएकी महिला हुन् ।

माओवादी केन्द्रबाट चितवनकी चेली कञ्चनमाला खनाल समानुपातिकबाट सभासद्मा चुनिएकी छन् । प्रदेश ३ बाट आठ सिट पाएको माओवादी केन्द्रले चितवनकी एक नेतृ कञ्चन खनाललाई सांसद बनाएको माओवादी केन्द्रका महानगर इन्चार्ज यमबहादुर परियारले जानकारी दिए । खनाल महिला अगुवाकर्मी हुन् । सभासद्मा चुनिएकी सीता अधिकारी चितवनकी भए पनि उनको कार्यथलो सिन्धुली जिल्ला रहेको उनले बताए ।

राप्रपा (प्रजातान्त्रिक)ले पनि प्रदेश सभा ३ मा पाएको एक सिटमा चितवन पार्वतीपुरकी रीना गुरुङलाई सांसद बनाएको छ । उनी स्थानीय तहको चुनावमा भरतपुर महानगरपालिकाबाट उपमेयरमा उठेकी थिइन् । गुरुङ कालिका एफएम भरतपुरको स्टेशन म्यानेजर हुन् ।

नेपाली कांग्रेसबाट नारायणगढ, बेलचोककी गीता वाग्ले समानुपातिकबाट सांसद बनेकी कांग्रेस जिल्ला सचिव उत्तम जोशीले जानकारी दिए ।

उनले भने, ‘चितवनबाट महिलामा गीता वाग्लेमात्र सांसदमा चुनिएकी हुन् ।’ वाग्ले यसअघि पनि कांग्रेसबाट समानुपातिक सभासद् बनेकी थिइन् । यसअघि सभासद् हुँदा उनले आफ्नो क्षेत्रमा सडक, शिक्षामा ठूलो बजेट दिएकी थिइन् । यसपटक चितवन जिल्लाका चार जना महिला सभासद् बनेका छन् ।

नयाँ संविधानअनुसार संसदमा ३३ प्रतिशत महिलाको सहभागिता आवश्यक पर्छ । प्रत्यक्षमा लड्ने महिला उम्मेदवार कम थिए, त्यसमा पनि जित्ने उम्मेदवार झन् कम भएपछि ३३ प्रतिशत प्रतिनिधित्व पु¥याउन दलहरु धमाधम समानुपातिकबाट महिलालाई सांसद बनाउन बाध्य भएका छन् ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *