राजपा र विप्लव नेतृत्वले उम्मेदवारी दिएपछि चुनावमा उत्साह

काठमाडौं, असार ५ – चुनाव होला कि नहोला भन्ने आशंका भैरहँदा आइतबार प्रदेश नं. १, ५ र ७ मा उत्साह जनक रुपमा उम्मेदवारी दर्ता भएको छ । चुनावको बिरोध गर्दै आएका राष्ट्रिय जनता पार्टी, राजपा र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ताले समेत केही ठाउँमा उम्मेदवारी दिएपछि चुनावको उत्साह झनै बढेको छ ।

पार्टीले चुनावमा भाग नलिने घोषणा गरेपछि नेकपा र राजपाका नेता कार्यकर्ताले आफ्नो प्रभाव बढी रहेको ठाउँमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका हुन् । विप्लवको पार्टीका विद्यार्थी संगठनका नेता अमित घर्ती मगरले रोल्पाको थबाङ गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिनुभएको हो । थबाङ नेकपाको सबैभन्दा बलियो प्रभाव क्षेत्र हो ।

संविधान सभाको दोस्रो चुनावमा शून्य मतदान गरेको थबाङमा घर्तीमगरको सहित दुईवटा स्वतन्त्र उम्मेदवारी परेको छ । यहाँ कांग्रेस र नेकपाबिच चुनावी तालमेल भएको हो । थबाङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसले उम्मेदवारी दिएको छैन । उपाध्यक्ष र अरु पदमा मात्रै उम्मेदवारी दिएको कांग्रेसले अध्यक्षमा विप्लवको पार्टीका उम्मेदवार  घर्ती मगरलाई मतदान गर्ने  कांग्रेस उपाध्यक्षका उम्मेदवार श्रीकुमारी रोकाले जानकारी दिनुभयो ।

आफ्नो प्रभाव रहेको ठाउँमा राजपाले पनि उम्मेदवारी दिएको छ । राजपा नेपालका स्थानीय नेता तथा कार्यकर्ताले रुपन्देही र कपिलवस्तुमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । रुपन्देहीका ३ स्थानीय तहमा राजपा समर्थक कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन ।

समरीमाई, कोटईमाइ र मर्चवारीमाई गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष सहित सबै तहमा राजपा समर्थित कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन । समरीमाई गाउँपालिकाको अध्यक्षमा अशोक सुक्ला र उपाध्यक्षमा कमरुद्धीन खान, मर्चवारी गाउँपालिकाको अध्यक्षमा राजकुमार सिंह र उपाध्यक्षमा जानकीप्रसाद चौधरी तथा कोटहीमाई गाउँपालिकाको प्रमुखमा बालकिसुन तिवारी र उपाध्यक्षमा असर्फि यादवले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

कपिलवस्तुमा २ वटा बाहेक सबै स्थानीय तहमा राजपा नेता कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दिएका छन् । ६ वटा नगरपालिका र ४ वटा गाउँपालिकामध्ये वाणगंगा र शिवराज नगरपालिकाबाहेक कपिलवस्तुका सबै स्थानीय तहमा राजपाले उम्मेदवारी दिएको छ । कपिलवस्तु नगरपालिकाको मेयरमा राजापाका नेता रामदास गुप्ता तथा उपमेयरमा बासुदेव कसौधनले उम्मेदवारी दिनुभएको छ ।  कपिलवस्तु नगरपालिकाका १२ वटै वडामा राजपाले उम्मेदवारी मनोनयन दर्ता गरेको छ ।

उम्मेदवारी दर्ता गरेका राजपाका नेता रामदास गुप्ताले चुनावको विरोधका लागि गरिएको आन्दोलन उपलब्धीबिहीन भएकाले आफू चुनावमा होमिएको बताउनुभयो । गुप्ताको यो भनाईबाट थाहा हुन्छ, आन्दोलनरत राजपा र नेकपा दुवै पार्टीका कार्यकर्ता चुनावको पक्षमा छन् । २० वर्षपछि भैरहेको चुनावले गाउँठाउँको विकास हुनेमा उनीहरु आशावादी छन् । आन्दोलन नागरिकको भावना विपरीत छ भन्ने पनि यसबाट पुष्टि हुन्छ ।

प्रदेश नं. ३, ४ र ६ मा चुनाव भएर पनि जनप्रतिनिधिले काम थालिसके । गाउँठाउँको विकासका लागि उनीहरुले योजना बनाउँदैछन् । चुनाव भएका ठाउँका स्थानीयबासिन्दाले वर्षौंपछि जनप्रतिनिधि भेटेका हुन् । आफ्नै ठाउँका परिचित जनप्रतिनिधिलाई समस्या सुनाउन उनीहरुलाई सजिलो भएको छ । सानो कामको लागि पनि जिल्ला सदरमुकाम र राजधानी धाउन बाध्य स्थानीयबासिन्दालाई अब सबै काम आफ्नै गाउँठाउँबाट हुन्छ भन्ने ठूलो विश्वास छ । अनि बजेटले स्थानीय तहमा पर्याप्त बजेट छुट्याएपछि छुट्टै उत्साह छाएको छ ।

संविधानमै स्थानीय तहको अधिकार बलियो बनाइएपछि आमनागरिकले चुनाव पर्खेर बसेका थिए । आशंकै आशंकाबिच पहिलो चरणको चुनाव सफलतापूर्वक सम्पन्न भयो । दोस्रो चरणको चुनावका लागि पनि उत्साहजनक रुपमा उम्मेदवारको मनोनयन दर्ता भयो । १४ गते प्रदेश नं. १, ५ र ७ मा चुनाव हुँदैछ । तर २ नम्बर प्रदेशको चुनाव भने असोज २ गतेलाई सारिएको छ ।

आइतबार तीनवटा प्रदेशमा उम्मेदवारको मनोनयन दर्ता भैरहँदा २ नम्वर प्रदेशका नागरिकलाई खल्लो लाग्यो । निर्वाचन आयोगका अनुसार त्यहाँका नागरिकले हाम्रो ठाउँमा चाहिँ किन मनोनयन नभएको भनेर प्रश्न गरेका थिए । चुनाव सारिएकोमा उनीहरुको चित्त बुझेको छैन । छिटै चुनाव होस् र राजपाले उठाएको माग राजनीतिकस्तरमा सहमति गराएर छिटो पूरा होस् भन्ने उनीहरुको चाहना छ ।

चुनावको पक्षमा देखिएको नागरिकको यो भावनालाई आन्दोलनरत राजपा र नेकपाका शीर्ष नेताहरुले बुझ्न सक्नुपर्छ । १४ गते नै प्रदेश नं. २ को चुनाव गर्न त अब सम्भव छैन । तर असोज २ गतेलाई तय गरिएको चुनावको विश्वासिलो वातावरण बनाउने काम राजपाका नेताहरुको हो ।

अनि राजपाका शीर्ष नेताहरुले आन्दोलन भनिरहेपनि १४ गते तीनवटा प्रदेशमा चुनाव हुनेमा अब आशंका छैन । स्वयं उनीहरुकै नेता कार्यकर्ता उम्मेदवार छन् । राजपा र विप्लवको प्रभाव रहेको ठाउँका बासिन्दा मतदानमा सहभागी हुँदैछन् ।

दलगत रुपमा चुनावमा सहभागी हुने मौका गुमाएका यी दलले स्वतन्त्र रुपमै उम्मेदवार बन्न बाध्य भएका आफ्ना नेता, कार्यकर्ताको पक्षमा उभिनुपर्छ । चुनावको पक्षमा देखिएको जनलहरलाई साथ दिनुपर्छ । आशा गरौं, चुनावमा भाग नलिने एउटा गल्ती गरिसकेका उनीहरुले आफ्नै नेता कार्यकर्ता र मतदाताको विश्वास गुमाउने अर्को गल्ती गर्ने छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *