बेरोजगारीको पराकाष्ठा

किशोर खनाल, भरतपुर । बेरोजगारीको पनि एउटा हद हुन्छ नि, सीमा नै नाघ्ने गरी बेरोजगारी युवाहरूको भीड देख्दा जो कोहीलाई ‘देशमा बेरोजगारीको पराकाष्ठा’ नै भएको अनुभव हुन्छ । यस्तै, बेरोजगारीको पराकाष्ठा नै देखियो आइतबार जिल्ला प्रहरी कार्यालय भरतपुर अगाडीको खुला चौरमा । सयौँ बेरोजगार युवाहरू जागिरको लागि लामो लाइनमा थिए ।

जिल्ला प्रहरी कार्यालय अगाडी खुला चौरमा बेरोजगार युवाहरूको ठेलमठेल भीडभाड देखेपछि भरतपुर–१० की गृहिणी महिला ज्योति मगरले सोधिन्, ‘के को जुलुस हो र यहाँ, के भयो र आन्दोलन हो र ?’ तर वास्तवमा त्यो भीड कुनै आन्दोलन थिएन, न त कुनै जुलुस नै थियो । थियो त केवल, म्यादी प्रहरीमा जागिर खान आउनेहरुको भीड । फाराम भरेर बुझाउनेहरुको लामो लावालस्कर थियो ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको सुरक्षाको लागि नेपाल सरकारले गत मङ्गलवारदेखि देशभर म्यादी प्रहरीमा भर्ना आह्वान गरेको छ । आइतबार जिल्ला प्रहरी कार्यालय भरतपुर पुग्दा निर्वाचनको सुरक्षाको लागि म्यादी प्रहरीमा भर्ना हुन चाहने सयौँ युवाहरू फाराम भरेर बुझाउन ठेलम ठेल गरिरहेका थिए । प्रहरी भीडलाई नियन्त्रणमा लिने प्रयास गरिरहेका थिए । चर्को घाममा छाता ओढेर सयौँ युवतीहरु म्यादी प्रहरीको लागि फाराम भरिरहेका थिए ।

निर्वाचनको सुरक्षाको लागि म्यादी प्रहरीमा भर्ना हुन चाहने युवायुवतीहरुले जिल्ला प्रहरी कार्यालय भरतपुरमा मङ्गलवारबाटै फाराम भरेका जिल्ला प्रहरी कार्यालय भरतपुर प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए । प्रहरी उपरीक्षक थापाका अनुसार असोज ३० गते बेलुका ५ बजेसम्म म्यादी प्रहरीको लागि फाराम बुझाउन सकिन्छ । मङ्गलवारदेखि शुक्रवारसम्म १३ सयजनाले म्यादी प्रहरीको लागि फाराम भरिसकेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अन्तिम दिनसम्म ४ हजारभन्दा बढीले म्यादी प्रहरीमा फाराम भरिसक्ने अनुमान गरिएको छ ।

म्यादी प्रहरीमा दरखास्त भर्नेहरुलाई कात्तिक १ गते सम्पर्क मिति तोकिएको प्रहरी उपरीक्षक थापाले बताए । कार्तिक ५ देखि ८ गतेसम्म छनौटको समय हुनेछ । कार्तिक १० गते अन्तिम नतिजा प्रकाशन हुनेछ । कार्तिक १२ देखि २४ गतेसम्म छनौट भएका म्यादी प्रहरीलाई तालिम दिइने छ । दरखास्त फाराम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । म्यादी प्रहरीमा भर्नाको लागि बढीमात्रामा पूर्वप्रहरी, सेना र पूर्वम्यादी प्रहरीहरु, वैदेशिक रोजगारीमा गएर फर्केकाहरु, गृहिणी महिलाहरूले फाराम भरिरहेका जिल्ला प्रहरी कार्यालयका असई गौतम पाण्डेले जानकारी दिए । उनले भने, ‘धेरै १२ कक्षा सकेका युवायुवतीहरु बढी छन् ।’

भीड देख्ने जो कोहीले पनि देशमा बेरोजगारीको अवस्था कस्तो रहेछ भन्ने कुरा सजिलै भेउ पाउँछन् । म्यादी प्रहरीको अवधि ५५ दिन हुन्छ । ५५ दिनको जागिर खान सयौँ युवाहरूको ताँती छ ।

‘देशमा रोजगार छैन, के गर्ने ? म्यादीमा जागिर भयो भने पनि परिवार चलाउन केही सजिलो हुन्छ कि भनेर फाराम भर्न आएको हुँ’ भरतपुर ११ बसेनीका हरिबाबु कमलीले भने, ‘५५ दिनको लागि मात्र रोजगारी भइयो भने केही गर्न सकिन्छ कि जस्तो लागेर आएको हुँ ।’

‘चार दिनदेखि लाइनमा’
माडीका सन्तोष लामा म्यादी प्रहरीको लागि चार दिनदेखि फाराम बुझाउन पाएका छैनन् । उनी भन्छन्, ‘सबै भद्रगोल पारा छ, माडीबाट आएर चर्को घाममा लाइनमा बसेको चार दिन भयो । फाराम बुझाउने पालो कहिल्यै आउँदैन । ठेलमठेल छ, घुसपैठ पनि भइरहेको छ ।’ उनले चार दिनदेखि आफू पालो कुरेर बस्दा पनि फाराम बुझाउन नपाएको गुनासो गरिरहेका थिए ।

त्यस्तै, गोलाघाटबाट आएका टेकनारायण ढकाल पनि चार दिनदेखि लाइनमा बस्दा पनि पालो नपाएको बताए । उनले भने, ‘बीचबीचमा मान्छेहरू घुसाइएको छ, चार दिनदेखि लाइनमा जहाँको त्यहीँ छु । मेरा पालो कहिले आउँछ ? पत्तो छैन ।’

स्थानीय तहको चुनावमा चितवनमा १२ सय ५५ म्यादी प्रहरी खटिएका थिए । त्यति बेला सरकारले देशभर ७५ हजार म्यादी प्रहरी मागेको थियो । अहिले सरकारले निर्वाचनको सुरक्षाको लागि देशभर ९८ हजार २६८ म्यादी प्रहरी मागेको छ । चितवन जिल्लामा यस पटक करिब १५ सय म्यादी प्रहरी खटिने अनुमान गरिएको छ ।

कस्ता व्यक्ति छनौट हुन सक्छन् ?

जिल्ला प्रहरी कार्यालय भरतपुरका प्रमुख प्रहरी उपरीक्षक थापाका अनुसार म्यादी प्रहरीमा जागिर खानेहरु कुनै राजनीतिक पार्टीको सदस्यता लिएको हुन हुँदैन । कुनै पनि खालका फौजदारी अभियोग लागेको पनि हुनुहुँदैन । म्यादी प्रहरीको लागि सामान्य लेखपढ गर्न सक्ने, नेपाली नागरिक भएको, कुनै नैतिक पतन हुने खालको अभियोगमा संलग्न नभएको, तन्दुरुस्त र मानसिक तथा शारीरिक रूपमा स्वास्थ्य ठिक रहेको हुनपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *