रियल मड्रिडको पोल्टामा च्याम्पियन्स लिग


जेठ २१ । स्पेनको रियल मड्रिड स्पेनिस च्याम्पियन १२ औं पटक युरोपको च्याम्पियन बनेको छ । वेल्सको कार्डिफमा रहेको मेलिनियम रंगशालमा शनिबार राति भएको च्याम्पियन्स लिग फुटबलको यो सिजनको फाइनलमा इटालियन च्याम्पियन युभेन्टसलाई ४–१ ले हराउँदै लगातार दोस्रो तथा समग्रमा १२ पटक च्याम्पियन बनेको हो ।
च्याम्पियन्स लिगको नामबाट प्रतियोगिता भएदेखि लगातार दोस्रो वर्ष उपाधि जित्ने रियल मड्रिड पहिलो टिम बनेको छ । कार्डिफमा रियललाई जिताउन क्रिष्टियानो रोनाल्डोले महत्वपूर्ण भूमिका खेले । उनले २० र ६४ औं मिनेटमा गरी दुई गोल गरे । यस्तै ६१ औं मिनेटमा कासमेइरो र ९० औं मार्को एसेन्सिओले गोल गरे । युभेन्टसका लागि २७ औं मिनेटमा मारियो मान्जुकीले एक गोल फर्काए ।
८४ औं मिनेटमा आन क्वाड्राडो दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि युभेन्टस १० खेलाडीमा सीमित भएको थियो । युभेन्टस यसअघि सन् १९९८ मा फाइनलमा रियलसँग १–० ले पराजित भएको थियो ।

चौथो सिजनमा तेस्रो पटक च्याम्पियन्स लिग च्याम्पियन बनेको रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोले प्रतियोगितामा समग्रमा एक सय ५ गोल गरेका छन् । यो सिजन १३ खेलमा १२ गोल गरेका उनी सिजनका सर्वाधिक गोलकर्ता बनेका छन् । उनले ११ गोल गरेका बार्सिलोनाका लियोनल मेस्सीलाई पछि पारेका हुन् । यसैगरी च्याम्पियन्स लिगका तीन फरक फाइनलमा गोल गर्ने एक मात्र खेलाडी पनि रोनाल्डो बनेका छन् । उनले सन् २००८, २०१४ र २०१७ को फाइनलमा गोल गरेका हुन् । यस्तै रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदान च्याम्पियन्स लिग एरामा लगातार उपाधि जित्ने पहिलो प्रशिक्षक बनेका छन् । यसअघि सन् १९८९ र १९९० मा एसी मिलानले लगातार उपाधि जितेको थियो ।

रियल मड्रिड युरोपियन कप च्याम्पियन्स लिगको फाइनलमा सबैभन्दा धेरैपटक पुग्ने क्लब हो । रियल अहिलेसम्म १५ पटक फाइनलमा पुगेकोमा १२ पटक जितेको छ । सन् १९५६ देखि १९६० सम्म (जुनबेला युरोपियन कपको रुपमा खेलाइन्थ्यो) लगातार पाँचपटक उपाधि जितेपछि रियल मड्रिड पहिलो पटक लगातार दुई सिजन उपाधि जित्न सफल भएको हो ।








