मण्डेलालाई पठाइएको चित्र प्रदर्शनीमा

काठमाडौं, पुस १५ । ‘इन्द्रजात्रा’ शीर्षकको दश फिट लम्बाइ र पाँच फिट चौडाइको बृहत् चित्रकला नेपाल कला परिषद्मा आकर्षणको केन्द्रविन्दु रहेको छ । चित्रको मूल्य रु १५ लाखले पनि यसको महत्व देखाउँछ ।

वरिष्ठ कलाकार शङ्करराजसिं सुवाल प्रायः ठूलै चित्रमा काम गर्नुहुन्छ । उहाँ अरुभन्दा छिटो चित्र कोर्नेमा पर्नुुहुृन्छ । तैलमाध्यममको सो चित्र उहाँले विसं २०६४मा तीन महीना लगाएर तयार गर्नुभएको हो । हनुमानढोका दरबार क्षेत्रमा हुने इन्द्रजात्रा अर्थात् कुमारीजात्राका सबै पक्ष चित्रमा आएका छन् । “ मलाई मन पर्ने ठाउँ पनि वसन्तपुर क्षेत्र नै हो, यो चित्र पाँच सयदेखि हजार वर्षसम्म टिक्नसक्छ ”, उहाँले भन्नुभयो ।

आफ्नो कलायात्रा ६० वर्ष पुगेका अवसरमा ‘दोस्रो सिंहावलोकन प्रदर्शनी’ लिएर उहाँ आउनुभएको छ । नेपाल कला परिषद्मा बुधबारदेखि आयोजित प्रदर्शनीमा उहाँका महाभारत, रामायणदेखि धर्म, संस्कृति, इतिहास, दर्शन तथा भूदृश्य र मुहारचित्र गरी ११२ चित्र राखिएका छन् ।  उहाँको ‘शान्ति’ शीर्षकको चित्र त अश्वेत नेता नेल्सन मण्डेलालाई समेत प्रदान गरिएको थियो । “मण्डेलाले नोबेल शान्ति पुरस्कार पाउँदा सो चित्र मैले यहाँबाट पठाएको थिएँ”, उहाँले भन्नुभयो । त्यसको अर्को प्रतिलिपि भक्तपुर सङ्ग्रहालयमा पनि रहेको छ ।

उहाँका आमा, बुद्ध र उनको जीवनी, दशावतार, ब्रह्मा– विष्णु– महेश्वर, गणेश, मुक्तिनाथ, सुकुटे, कीर्तिपुर, काठमाडौँमा पानीको समस्या, भूकम्पमा हनुमानढोका दरबार, राजनीतिक आतङ्क, पृथ्वीनारायण शाहको भक्तपुरसँगको युद्ध, चितवन जङ्गल लज जस्ता तैल, जलरङ, एके्रलिक, पेन एण्ड इन्क, ग्राफिक प्रिन्ट जस्ता माध्यमबाट चित्रले उहाँको चित्रकारिताको विविधता पनि देखाउँछ ।

विसं २०३३ देखि गोरखापत्र संस्थानमा रही उहाँले ‘गोरखापत्र’, ‘द राइजिङ नेपाल’, ‘मधुपर्क’, ‘सण्डे डिस्प्याच’, ‘काठमाडौँ क्यालाडोस्कोप’ आदि पत्रिकाका लागि चित्र बनाउनुभएको थियो । उहाँले विसं २०२१देखि २३ सम्म कलाकार लैनसिंह वाङ्देलसँग चित्रकला सिकी पछि २०२७ देखि पाँच वर्ष महाराजा सैयाजी राव विश्वविद्यालय, बरोदा, गुजरातबाट ललितकलामा डिग्री लिनुभयो । त्यसको दश वर्षपछि उहाँले जर्मनीमा नोट डिजाइनसम्बन्धी विशेष तालीम पनि लिनुभयो । उहाँसँग करीब २०० चित्र त अझै बाँकी छन् । ‘बुद्ध’ शृङ्खलामा दश वर्षसम्म एकोहोरो लाग्नुभएका सुवालसँग अहिले एउटा मात्र बाँकी छ ।

अहिले चलेको प्रदर्शनीमा राखिएको ‘गणेश’ शीर्षक चित्रकै अर्को चित्र उहाँले रु एक लाखमा बनाउने आदेश पनि लिनुभएको छ । ‘इन्द्रजात्रा’शीर्षक चित्रका लागि तत्कालीन राजा वीरेन्द्रबाट पनि उहाँलाई आदेश आएको थियो । आधुनिक कलाकार समाजका अध्यक्ष सुवाल मूर्तिहरु पनि बनाउनुहुन्छ । अहिले धातु र काठका तीन मूर्ति चरामण्डल, गणेश र प्रेमीप्रेमिका शीर्षकका मूर्ति पनि प्रदर्शनीमा राखिएका छन् । “म मूड चलेका बेला कविता पनि लेख्छु नि ”, उहाँले दर्शनसम्बन्धी कविताका केही अंश पनि सुनाउनुभयो । आर्ट सर्कलद्वारा आयोजित चित्रकला प्रदर्शनी सोमबारसम्म चल्नेछ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *