वर–पिपल


“
तिम्रो अन्धताले विकृत
तिम्रो कुधर्मले विसंगत
थोत्रो कठ्घरामाथि उभिएर
म विचारको झार्छु
तिम्रो पृथ्वी पर्लक्कै उल्टिने छ
तिम्रो कुधर्मका जराहरू त्यही पल्टिने छ
जहाँ वर पिपल एक हुने छन् !
त्यही मेरी आमा लौरो टेक्दै
टुकी बोकेर उभिन्छिन्
एक साँझ,
एउटा आश बोकेर
अलिकति चाउरी परेको मुहारमा मुस्कान छर्दै
तुवाँलो लागेको आकाश
अनायास कञ्चन देख्छिन्
उनको जीवनको आस्था ढलेको छैन !
उनी आफैंले उमारेको जीवनको बीज
तिम्रो विसंगत विचारको नदीहरूमा
तिम्रो थोत्रो मनोवृत्तिमा बगिरहेछन्
समय त्यही उभिएर
परिवर्तनको शंखघोष गर्दैछ !
वल्लो डाँडामा उभिएको जिग्रीङ्ग वरको रूख
पल्लो डाँडामा प्रेमको तृष्णाले निस्प्राण पिपलको रूख
आपसमा साउती मार्ने
तृष्णा मेट्ने आकाङ्क्षा बोकेर
शताब्दीयौंदेखि प्रतीक्षारत छन् !
एउटा बोधिसत्व खोजिरहेछन्
नीरमाया१ तिम्रा जीउका झरेका वस्त्रहरू जस्तै
समयले काँचुली फेर्दै मागिरहेको छ नवचेतना
शंखघोष गरिरहेका छन् वर , पिपल
समयको साक्षी बनेर
प्रेमको उदघोष गरिरहेका छन्।”
