बोकाको तौलले धोका दिएपछी…

असार ११, रामेछाप । रामेछापमा बोकाको विषयमा सर्वदलीय बैठक बसेको छ । जिल्ला पशुसेवा कार्यालय रामेछापले किसानलाई ९ केजीको बोकाको कानमा १९ केजीको ट्याग वितरण गरेको भन्ने आरोप लागेपछि जिल्ला पशुसेवा कार्यालयले बोकाको बिषयमा सर्वदलीय बैठक डाकेको हो । जिल्ला पशुसेवा कार्यालय रामेछापले राष्ट्रिय पुनर्निमार्ण कोष कार्यक्रम अन्तर्गत भूकम्प पीडीतलाई अनुदानमा बोका वितरण गरेको थियो ।

कार्यक्रम अन्तर्गत पशुसेवा कार्यालयले खाँडादेवी गाउँपालिका वडा नं ४ पकरवासका किसान कर्णबहादुर माझीले खरिद गरेर लगेको बोको ९ केजीको मात्र भएको भन्दै रामेछापका पूर्वसभासद तारानारायण श्रेष्ठले किसानको नाममा आएको रकम कर्मचारीहरुले अनियमितता गरी सानो बोको खरिद गरेर दिएको बताएपछि जिल्लाका सञ्चारकर्मीहरुले यस विषयलाई आधार मानी सञ्चार माध्यममा ल्याएका थिए ।  बोको खरिदमा अनियमितता भन्ने विषयको समाचार सञ्चार माध्यममा आएपछि जिल्ला पशुसेवा कार्यालयले बोकाको बिषयमा सर्वदलीय बैठकको आयोजना गरेको हो । बैठकमा रामेछापका निमित्त प्रमुख जिल्ला अधिकारी जगदिश मिश्र, मन्थली नगरपालिकाका मेयर रमेशकुमार वस्नेत जिल्लाका राजनीतिक दलका प्रमुख र सञ्चारकर्मी समेत बैठकमा आमन्त्रण गरिएको थियो ।

बैठकमा बोका खरिद गर्ने किसान र बोको लिन कार्यालयको मोटरमा एक कर्मचारी नै कार्यालय प्रमुखले खटाए । कर्मचारीले पकरवास पुगेर किसान र बोको गाडीमा राखेर सदरमुकाम मन्थली ल्याए । बैठकमा बसेका सबैका अगाडि बोका हेरेपछि बोका त ठूलो पो रहेछ एक सहभागी भने । अर्का सहभागीले भने कर्मचारीले बोका पो साटे छन् की क्या हो ?

बैठकमा यस्तै कुरा चलिरहँदा बोका जोखियो । ९ केजी भनेको बोका २४ किलोको भएपछि बैठकमा सहभागी भएकाहरु एकअर्काको मुखतर्फ हेर्न थाले ।  बैठकमा सहभागीहरुले पूर्व सभासद श्रेष्ठको भनाइ गलत रहेको भन्दै आपत्ति जनाएका थिए । एक जिम्वेवार व्यक्तिले हचुवाको भरमा फेसवुकमा बोकाको फोटो खिचेर हालीदिने र अनाहकमा २४ केजीको बोकालाई ९ केजीको भनेर पत्रकारलाई भनिदिँदा कार्यालयमा कार्यरत सबै कर्मचारीको टाउँको दुखाईको विषय बन्न पुगेको जिल्ला पशुसेवा कार्यालय रामेछापका प्रमुख डा.नारायण शर्माले बताउनुभयो ।

बैठकमा सहभागी पूर्वसभासद तारानारायण भन्नसभयो ‘बोका आफूले पनि नदेखेको फोटो हेर्दा बोका त्यस्तै ९ केजीको जत्रो होला भनेर मैले फेसबुकमा र केही पत्रकार साथीहरुलाई पनि भनेको थिए । ‘मैले भनेको बिषयलाई लिएर सञ्चारकर्मी साथीहरुले समाचार लेख्नुभयो । मैले सही गरे वा गलत ।’   गत वर्ष पनि बोका वितरणमा अनियमितता गरेको आरोप खेपेको कार्यालयले यस वर्ष भने अनुदानको रकम एकमृष्ठ कृषकको खातामा राखिदिने र रकमबाट अनुदान रकम पाउने किसानले आफ्नै पैसा थपेर बोका खरिद गर्न सक्ने नीति बनाएको थियो । कार्यालयले बोका किन्न एकमुष्ठ १५ हजार रुपैयाँ दिने र रकमवाट किसानले १८ केजीको बोका खरिद गर्नुपर्ने बन्धन बनाएको थियो । किसानहरुले रकम पाउने भपछि सोही अनुसार बोका खरिद गरेका थिए ।

बोका खरिद प्रक्रियामा कर्मचारीहरुले अनियमितता गरेको भन्ने सूचना विभिन्न सामाजिक सञ्जालहरुमा आएको र पूर्वसभासदले समेत अनियमितता गरेको भन्दै पत्रकारलाई बताएपछि त्यसको विषयमा प्रतिक्रिया लिन कार्यालयका प्रमुख डा. नारायण शर्मासँग सञ्चारकर्मीले टेलिफोन सम्र्पक गर्दा उहाँले यस बिषयमा बोल्न नपाउँदै मेरो मोवाइलमा फोन आयो भनेर टेलिफोन काटेपछि पत्रकारलाई पक्कै बोका खरिदमा अनियमितता भएको भन्ने आधारमा उक्त समाचार सम्प्रेषण भएको थियो । समाचारले व्यापक रुप लिएपछि पशु कार्यालयले सर्वदलीय बैठक डाक्नु परेको भन्दै कार्यालय प्रमुखले दुःख व्यक्त गर्दै क्षमायाचना समेत माग्नुभएको थियो । बैठक सकिएपछि पुनः कार्यालयको गाडीमा किसान र बोकालाई राखेर किसानलाई घर पठाइएको थियो ।

स्रोत : उज्यालो अनलार्इन

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *