भियतनाममा ‘डाम्रे’ नामक आँधीबाट १०६ जनाको मृत्यु, २५ बेपत्ता


हनोइ, कात्तिक २४ । भियतनाममा करिव एकहप्ता अघि आएको ‘डाम्रे’ नामक आँधीका कारण कम्तीमा पनि १०६ जनाको मृत्यु भएको समाचार छ ।
मध्य भियतनाम र मध्य पहाडी क्षेत्रमा भीषण आँधी आएको भियतनामको प्राकृतिक बिपद् नियन्त्रण तथा उद्धारसम्बन्धी केन्द्रीय परिचालन समितिले शुक्रबार जानकारी दिएको छ ।
सो आँधीको कारण कम्तीमा पनि १०६ जनाको मृत्यु भएको र अझै पनि २५ व्यक्ति बेपत्ता रहेका दैवी प्रकोप व्यवस्थापन अधिकारीहरुले जनाएका छन् । शुक्रबार बिहानसम्म जारी सो आँधीबाट त्यहाँको भौतिक सम्पत्तिको पनि ठूलो क्षति पुगेको जनाइएको छ ।
डाम्रेबाट करिब दुई हजारभन्दा बढी घहरुमा पूर्ण रुपमा क्षति पुगेको छ । त्यसैगरी, करिव एक लाख २० हजार हेक्टर क्षेत्रफलमा रहेको बालीनाली पनि नष्ट भएको छ ।
आँधीसँगै आएको बाढी र पहिरोले बिन्ह दिन्ह, फु–येन, खान्ह होआ र क्वाङ नाममा गाडी गुड्ने बाटो र रेलयातायातमा क्षति पुर्याएको पनि अधिकारीहरुले जनाएका छन् ।
डाम्रे प्रभावित व्यक्तिहरुको लागि संकटकालीन मानवीय सहायता उपलब्ध गराउने चीन सरकारले शुक्रबार घोषणा गरेको छ ।
