हिलाम्मे छन् जलजलाका सडक, जोखिम छ यात्रा

असार १६, पर्वत । पर्वतको जलजला गाउँपालिका अन्तर्गत बाँसखर्क, लेकफाँट र शालिजाका ग्रामीण सडक बर्खा लागेसँगै जोखिमपूर्ण बनेका छन् । मुख्य सडक हिलोका कारण जोखिमयुक्त भएका हुन् । बाँसखर्क हुँदै लेकफाँटको लोप्रे जाने सडक, मिलनचोक हुँदै लोप्रे जाने मुख्य सडक हिलाम्मे छन् । तीनवटै सडकका शाखा सडक त प्रायः ठप्पै छन् । पर्यटकीय क्षेत्र नागी पुग्ने पर्यटक, तरकारी ओसार्न र गाउँबाट बजार आउजाउ गर्न स्थानीयवासीले प्रयोग गर्ने यी ग्रामीण सडक अहिले हिलाम्मे हुँदा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ । ठूलो वर्षा हुँदा धौलापहरोको पहिरोले सबैभन्दा बढी दुःख दिने गरेको छ ।

जिल्ला समन्वय समितिले मर्मतका लागि बर्सेनि रकम खर्चिने गरे पनि हिउँदमा मात्र सहज यात्रा हुने गरेको स्थानीयवासीले बताएका छन् । हिँउदभरि बनाउने बर्खा लागेपछि भेलले बगाएर जस्ताको तस्तै हुने समस्याले सास्ती पाएको लेकफाँटका टङ्कप्रसाद सुवेदीले बताउनुभयो । सडक बिग्रिएकाले चालकले कोदाली, बेल्चा, धानको भुस बोकेर हिँड्नुपरेको बताएका छन् । गाडी फस्ने डरले त्यस्ता सामग्री साथमा बोकेर हिँड्नुपरेको चालक कृष्ण पुनले बताउनुभयो । जिल्ला समन्वय समितिले चालु आर्थिक वर्षभित्र मर्मत भएका सडकसहित बजेट विनियोजन भएर बनेका अन्य योजनाको प्रगतिको बारेमा स्थलगत अनुगमन गरिरहेको जनाएको छ ।

कलस्टर नं १ को टोलीले बिहीबार जलजला गाउँपालिकाका योजनाको अनुगमन ग¥यो । अनुगमनका क्रममा योजनामा बर्खा लागेसँगै क्षति भएका र कतिपय योजना सम्झौता भएको लामो समयसम्म अझै काम सुरु नभएको समेत पाइएको छ । कालीगण्डकी नदी नियन्त्रण कार्यक्रमअन्तर्गत लस्ती र मालढुङ्गाको बस्ती जोगाउने कालीगण्डकी नदी नियन्त्रण कार्यक्रम फागुनमा पेस्की बुझेरसमेत अहिलेसम्म काम सुरु हुन सकेको छैन । कतिपय सडक मर्मतअन्तर्गतका काम भने सम्पन्न भइसकेका छन् ।

निर्वाचन क्षेत्र पूर्वाधारको बजेटले केही सडक अहिले सुधारोन्मुख देखिएका छन् । धाइरिङ, लेकफाँट, शालिजामा निर्वाचन पूर्वाधार कार्यक्रमको रु ४५ लाख बजेट विनियोजन भएकामा उक्त बजेटअन्तर्गत बिग्रिएको बाटोमा नाली बनाउने, सोलिङ गर्ने, जाली भर्नेजस्ता काम भइरहेको पाइएको अनुगमन टोलीका संयोजक भक्त कुँवरले बताउनुभयो ।

लुङ्दीखोलामा बन्दै गरेको पक्की पुलसमेत काम सम्पन्न भएर सञ्चालन गर्ने तयारी भएको छ । अनुगमन टोलीले पुलको सुरुदेखि अन्तिमसम्म भएका काम र प्रगतिका बारेमा आयोजनास्थलमा खटेका इन्जिनियरसँग अन्तक्र्रिया गरेको छ । स्थानीय उपभोक्ता समिति र निर्माण समितिले गरेका कामको गुणस्तरसमेत अनुगमन टोलीले मापन गरी जिल्ला समन्वय समितिको समीक्षा बैठकमा प्रतिवेदन पेस गर्ने भएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *