बामदेव गौतम आफैँले बद्मासी गरेका रहेछन्,रिपोर्ट आयो !

काठमाडौं, पुष १० । ‘आफ्नो खल्ती दह्रोसँग नबाध्ने तर चोर लगाउने’ बर्दिया–१ बाट काँग्रेसका सञ्जय गौतमसँग पराजित भएका एमाले उपाध्यक्ष वामदेव गौतमले आफू पराजित हुनुमा पार्टीभित्र अन्र्तघात नै मुख्य पार्टाे रहेको भन्दै छानविन समिति नै खडा गरेपनि मुख्य द्वोषी उनी आफै देखिएका छन् । उनी पराजित भएपछि पार्टी स्थायी कमिटी बैठक नै भेला गरियो । तर, अहिले उनी पराजय हुनुमा पार्टीभित्रका तल्ला कार्यकर्ताहरुको हात देखिएजस्तो भएपनि हारको मुख्य कारण भने उनी आफै रहेको छानविन कमिटीहरुको रिपोर्टले प्रारम्भिक निचोड निकालेको छ ।

गौतमको पराजयको कारण पत्ता लगाउन बर्दिया ५ नम्बरका विजेता बिष्णु पौडेलले केन्द्रीय सदस्य बैजनाथ चौधरीको संयोजकत्वमा छानविन समिति गठन गरेका थिए । उता, जिल्लामा अध्यक्ष हरि ज्ञवालीको संयोजकत्वमा पनि अलग्गै समिति गठन गरेर छानविन रिपोर्ट तयार पार्ने काम भइरहेको छ । तर, दुवै छानविन समितिले बुझाएको प्रारम्भिक रिपोर्टमा भने अन्तरघात भन्दा पनि बामदेव आफ्नै कारणले चुनावमा पराजित भएको निष्कर्ष निकालेको छ । तर, रिपोर्टमा अन्तरघातले पनि सहायक भूमिका निर्वाह गरेको देखाएको छ ।

चुनावपछि एकैचोटी पहिलोपटक शुक्रवार बसेको स्थायी कमिटी बैठकमा उपाध्यक्ष गौतमले आफूलाई हराउन बर्दिया १ का निवर्तमान सांसद श्याम ढकालसहित ८/९ जना नेताहरुको हात रहेको भन्दै अन्तरघातीको सूची बुझाएका थिए । गौतमले आफूलाई हराउन केन्द्रीय सदस्य सूर्य थापाको संलग्नता रहेको देखाएका थिए । गौतम निकटका एक नेताका अनुसार अन्तरघातमा केन्द्रका सूर्य थापा, ईश्वर पोखरेलको र अन्य जिल्ला कमिटीका कार्यकर्ताको उल्लेख्य संलग्नता रहेको बताइन्छ ।

गौतमको पराजयलाई अध्यक्ष केपी शर्मा ओलीले अप्रत्याशित भन्दै यसको कारण खोज्न ५ नम्बर संयोजक बिष्णु पौडेललाई आग्रह गरेपछि छानविन अघि बढेको थियो । बैजनाथ चौधरीले संयोजक पौडेललाई बुझाएको प्रारम्भिक रिपोर्टमा केही नेताले अन्तर्घात गरेको तर अन्तरघातकै कारण मात्र वामदेव पराजित नभएको उल्लेख गरिएको स्रोतले जनाएको छ ।

गौतम हार्नुमा मुख्यतः तीन पटकसम्म त्यस क्षेत्रमा जित हासिल गरेपनि सिन्को भाँच्ने काम नगरेको त्यहाँका स्थानीयहरुको असन्तुष्टि रहेको छ । ०४८ सालदेखि लगातार बर्दिया १ बाट चुनाव लडेका र तीनपटक जितेका गौतमले केही काम नगरेको भन्दै जनतामा व्यापक असन्तुष्टि उत्पन्न भएको हो । तीनपटक उपप्रधानमन्त्री र गृहमन्त्री हुँदा कसैले जागिर नपाएकोदेखि विकास निर्माणका काम नभएको र वामदेवसँग जनताले भेट्नै नपाउने गरेको गुनासो कार्यकर्तामा व्यापक भेटियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *