‘पुल भत्काएर गयौँ, अब फर्कन सम्भव छैन’

पुस ९, भरतपुर । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताबाट फर्कनै नमिल्ने बताएका छन् । भरतपुरस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसमा आइतबार आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले नेकपा एमालेसँग पार्टी एकता गर्ने अन्तिम तयारी भइरहेको बताए ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको कुरा पछाडि फर्कनै नमिल्ने गरी अघि बढिसकेको उनले बताए । ‘पार्टी एकताको बाटोमा अगाडि बढेको छ । पुल भत्काइएन भने पछि फर्कन पनि सकिन्छ भन्ने सोचेर पुल नै भत्काएर पार्टी एकता गर्न गएका हौँ’ प्रचण्डले भने, ‘नेतृत्व तहमा पार्टी एकताबाट पछि हट्ने कुरा कसैले गरेको छैन । छिट्टै एकता अवश्य नै हुन्छ ।’

अध्यक्ष प्रचण्डले ओलीसँग शनिबार बेलुकी र आइतबार बिहान पनि आफ्नो कुराकानी भएको बताए ।

एमाले र माओवादीलाई एक हुन नदिन विभिन्न शक्ति सक्रिय भएको उनले दावी गरे । त्यस्ता शक्तिलाई परास्त गरेर अघि बढ्ने बताए । एमाले–माओवादी केन्द्रको एकताका विषयमा केही सञ्चारमाध्यमले भ्रामक समाचार दिन थालेको प्रचण्डले दावी गरेका थिए । प्रचण्डले भने, ‘आज बिहान र हिजो बेलुकी पार्टी एकता टुंग्याउने गरी ओलीजीसँग कुरा भएको छ । पार्टी एकता अघि बढिसकेको छ ।’

एमाले–माओवादी केन्द्रबीचको एकतामा फाटो पार्न केही मानिसहरु अन्तिम कसरतमा लागेको उनले दाबी गरे । ‘उनले भने, ‘एकतामा केही जटिलता हुन्छन्, त्यसबारे हामीले सोचिसकेका छौं’ प्रचण्डले भने, ‘तर पछि हट्ने विकल्प छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *