निर्वाचनमा एक ढिक्का भएर काँग्रेसको पक्षमा मतदान गर्न आग्रह
२०७४ जेठ १५ गते

नेपालगन्ज ५ । नेपालगन्ज उपमहानगरपालिकाका २३ वटै वडाका काँग्रेस तर्फका अध्यक्ष उम्मेदवारहरुले असार १४ गते हुने स्थानीय तह निर्वाचनमा एक ढिक्का भएर काँग्रेसको पक्षमा मतदान गर्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन । पार्टी भित्र असन्तुष्टि भएपनि यो चुनाव प्रतिष्ठाको लडाई भएकाले काँग्रेसलाई जिताउनुको विकल्प नभएको वक्ताहरूले बताएका थिए ।
काँग्रेस नेतृत्वमै संबिधान जारी भएकाले यसको कार्यान्वयनको जस अरुलाई दिन नसकिने भन्दै वडा अध्यक्षहरुले त्यसका लागि स्थानीय तहमा काँग्रेसले जित्नै पर्ने बताए । उनीहरुले काँग्रेसको जिल्ला नेतृत्वले पनि नेता तथा कार्यकर्तामा देखिएको असन्तुष्टि मेटाउन जरुरी रहेको बताए ।
केही समस्या नेतृत्वमा देखिएको छ उनीहरुले भने–‘अहिले असन्तुष्टि देखाउने बेला होइन तर नेतृत्वले त्यसलाई पनि मध्यनजर गरेर चुनावी अभियानलाई सशक्त पारिनु पर्छ ।’ काँग्रेस सभापति किरण कोइराला, उपसभापति सुदिप नरसिंह राणा, सचिव तप्त पौडेल, नगरसभापति प्रशान्त विष्ट, मेयरका उम्मेदवार डाक्टर सुरेशकुमार कनौडिया, उपमेयर उम्मेदवार उमा थामामगरसमेत सहभागी भएको कार्यक्रममा वडाका अध्यक्षहरुले चुनावी रणनीतिबारे जानकारी गराएका थिए ।

कार्यक्रमलाई सम्वोधन गर्दै मेयरका उम्मेदवार डाक्टर कनौडियाले नगर काँग्रेसमय भइसकेको भन्दै आफ्ना चुनावी प्रचारलाई थप तीब्रता दिन आग्रह गर्नुभयो ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








