सूर्योदय अगावै महानगरको फोहोर ब्यवस्थापन, जेष्ठ नागरिकलाई घरमै बृद्धभत्ता

जेठ १७, काठमाडौं । काठमाडौं महानगरपालिकाको पहिलो नगरकार्यपालिकाको बैठकले सूर्योदय अगावै महानगरको फोहोर ब्यवस्थापन गर्ने निर्णय गरेको छ ।
मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्कीले पदभार सम्हालेपछि नगरकार्यपालिकाको बैठक बसेको थियो । बैठकले ११ बुँदे निर्णय गरेको छ, जसमा क्लिन सिटी अभियान चलाउने मेयरको पहिलो निर्णय पनि समावेश छ ।

बैठकले नेपालीसँगै नेपाल भाषालाई महानगरको सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको छ । ‘नेपाल भाषाका विज्ञ दोभाषेका व्यवस्था मिलाई सेवाग्राहीलाई सहज सेवा पुर्‍याउने प्रवन्ध गरिनेछ’ निर्णयमा भनिएको छ ।

रञ्जना लिपीलाई महानगरको सबै कार्यालयको बोर्ड र लेटरप्यार्डमा प्रयोग गर्ने निर्णय पनि गरिएको छ ।
यसका साथै बारदरबारस्थित महानगरको भवन निर्माण तत्काल थाल्ने र वडा कार्यालय निर्माणलाई प्राथमिकता दिने निर्णय भएको छ ।

बैठकले महानगरको घर तथा टोलबाट निस्कने फोहोरलाई सूर्योदय अगावै व्यवस्थापन गर्ने निर्णय गरेको छ । ८० वर्ष उमेर पुगेका पुरुष र ७५ वर्ष उमेर पुरा भएका महिलालाई महानगरको तर्फबाट बार्षिक१२ हजार महानगर भक्ता दिने र घरमै चिकित्सक पठाएर स्वास्थ्य परीक्षणको थालनी गर्ने निर्णय गरिएको छ ।

यसैगरी भूकम्पबाट भत्किएका निजी आवास बनाउन निःशुल्क परामर्श सेवा दिने र भवन निर्माण इजाजत दस्तुरमा शतप्रतिशत छुट दिने निर्णय भएको महानगरपालिका बोर्डले जनाएको छ ।
महानगरका ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पर्यटकीय क्षेत्रका साथै महत्वपूर्ण सार्वजनिक स्थल र पार्कमा फ्रि वाइफाइको व्यवस्था गर्ने निर्णय पनि भएको छ । महानगरका सबै वडा तथा विभागबाट प्रवाह हुने सेवालाई छिटो, प्रभावकारी र पारदर्शी बनाउँदै जवाफदेही र असल शासनको अभ्यास गर्ने, सार्वजनिक शौचालयहरु निर्माण गर्ने, महानगरलाई २४ सै घन्टा खुल्ने जीवन्त शहरको रुपमा विकास गर्न आवश्यक पूर्वाधार विकास एवं निर्माण कार्य थालनी गर्ने पनि बैठकको निर्णय छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *