शिक्षाको ज्योति छर्दै ‘इन्द्रबहादुर’


असीम तिमल्सिना । ‘बाबु गरिब थिए, छोरापनि गरिब भए । छोरा कुल्लि थिए, नातिपनि कुल्लि भए । नाति हलो जोत्थे, पनातिहरुपनि हलो जोत्ने भए । यो कहिल्यै नटुङगिने दरिद्रताको चक्रलाई शिक्षाले मात्र समाधान गर्नसक्छ’ यो भनाई हो शिक्षा सेवी इन्द्रबहादुर रखालको ।
ललितपुरको नख्खुमा १५ वर्ष अघि विपन्न तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई लक्षित गरेर आफ्नै पहलमा विद्यालय सञ्चालन गर्नुभएको रखालले सामाजिक दरिद्रतालाई शिक्षाले मात्र मेट्न सकिने देखेर आफ्नै पहलमा विपन्न तथा आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरुका लागि विद्यालय सञ्चालन गर्नुभएको हो ।
शिक्षालाई कमाई खाने भाँडो बनाउने हजारौँको भिडमा इन्द्रबहादुरले गर्नुभएको काम उदाहरणीय बनेको छ ।
ललितपुरको नख्खुमा रहेको ग्रेस एकेडेमीमा दुई दर्जन बढी विद्यार्थीहरू इन्द्रबहादरकै पहलमा निःशुल्क अध्ययन गरिरहेका छन् भने, पाँच सय बढी विद्यार्थीहरूले न्यूनतम शुल्कमा उच्चस्तरीय शिक्षा हासिल गर्न पाएका छन् ।
‘शिक्षाले जनताको आर्थिक स्तरमा सुधार ल्याउन सकिन्छ भनेर नै यो विद्यालयको सुरु गरेको हुँ, यसबाट मैले कुनै व्यक्तिगत लाभ लिने कार्य गरेको छैन’ विद्यालय सुरु गर्नुको उद्देश्यबारे उहाँले प्रष्ट्याउनु भयो ।
सन् २००२ बाट औपचारिक रूपमा श्रीमती लिना रखालसँगको हातेमालोमा ग्रेस एकेडेमी सञ्चालन गर्नुभएका रखालले आर्थिक रूपमा कमजोर बालबालिकालाई निःशुल्क तथा विपन्न वर्गलाई न्यूनतम शुल्कमा शिक्षा दिनुपुर्व नै करिब १४ वर्षको प्राध्यापन अनुभव हासिल गरिसक्नुभएको थियो ।
‘पढ्न नपाएका, सानै उमेरमा काम गर्न पुगेका तथा निक्कै दरिद्र जीवन बिताईरहेका बालबालिकाहरुलाई देखेपछि मलाई यी बालबालिकाहरुका लागि केही गर्ने प्रेरणा जाग्यो’ उहाँ भन्नुहुन्छ ।

एक जमानामा ‘अनौपचारिक प्रगति शिक्षा’ भनेर सञ्चालन गरिएको विद्यालयकै परिस्कृत रूप ग्रेस एकेडेमी हो । सुरुवाती समयमा सडकबाट पढाउनका लागि ल्याईएका बालबालिकाको स्याहार सुसार गर्न समेत रखाल दम्पति हिच्किचाउनु भएन । उनीहरूलाई नुहाइदिने, कपडा धोइदिने, खाना खुवाउने समेत गर्नुभयो । सडकबाट ल्याइएका केटाकेटीलाई आफ्नै छोराछोरी जस्तो मायाममता दिन थालेपछि ती केटाकेटीहरुपनि उहाँलाई छोडेर जान सकेनन् । रखालको हेरचाह र मायाममता पाएपछि राजधानीका सडकमा भौतारिइरहेका धेरै बालबालिकाहरुले नयाँ जीवन पाए । ‘फोहरका थुप्रोमा लुट्पुटिएका केटाकेटीहरु मेरो काखमा आएपछि सुन जस्तै बने, अहिले तिनीहरूको हेरचाह गरेर मैले ठिकै गरेछु भन्ने हुन्छ’ विगतका कुरा सम्झँदै भन्नुहुन्छ ।
ललितपुर नख्खुमा सुरुवाति समयमा सानो क्षेत्रफलमा सञ्चालित ग्रेस एकेडेमी समयको अन्तरालसँगै निकै भव्य भएको छ । अहिले ग्रेस एकेडेमी चार तल्ले सुविधासम्पन भवनमा कक्षा दशसम्म सञ्चालन भइरहेको छ । एकेडेमीले आउँदा दिनहरूमा कलेजसमेत सञ्चालन गर्ने लक्ष्य लिएको छ ।
| ‘हामी पुरै परिवार विद्यालयको लागि समर्पित भए पनि कहिलेकाँही आर्थिक अभावले समस्या पर्ने गरेको छ दिगो आम्दानीको स्रोत व्यवस्थापन गर्न पाए सहज हुन्थ्यो’ |
पाटन क्याम्पसबाट मानवशास्त्रमा ग्रयाजुएट गर्नुभएका उहाँले त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर समेत गर्नु भएको छ । त्यसपछि उहाँले मलेसियाबाट ‘बाल शिक्षा’को अध्ययन गर्नुभयो । र नेपाल फर्किएर पुनः मानवशास्त्रमै एमफिल गर्नुभयो ।
पुर्णतयाः मानवताको भावना उजागर गर्न र सामाजिक, आर्थिक रूपमा विद्यालयसम्म जान वञ्चित बालबालिकालाई शिक्षाको उज्यालो ज्योति प्रदान गर्न खोलिएको ग्रेस स्कुलमा हाल ३६ जना कर्मचारी छन् भने, करिब ५ सय ५० विद्यार्थीले अध्ययन गरिरहेका छन् ।
कम शुल्कमा अध्यापन गराउँदा विद्यालय व्यवस्थापनका लागि धेरै समस्या छ । तर, ‘जहाँ इच्छा त्यहाँ उपाय’ भने जस्तो रखालको उद्देश्यमा ‘होष्टेमा हैंसे’ गर्नेहरुको कमी पनि छैन । अहिले विद्यालयलाई विभिन्न च्यारिटि संस्थाबाट सहयोग आउँछ भने, धेरैले गुप्त दान समेत गरेर विद्यालय सञ्चालनमा सहयोग गर्ने गरेका छन् ।
रखालका दुई छोरी समेत विद्यालयमा स्वयंसेवीका रूपमा खटिएका छन् । यति गर्दापनि कहिलेकाँहि विद्यालय सञ्चालनमा समस्या पर्ने गरेको छ । ‘हामी पुरै परिवार विद्यालयको लागि समर्पित भए पनि कहिलेकाँही आर्थिक अभावले समस्या पर्ने गरेको छ दिगो आम्दानीको स्रोत व्यवस्थापन गर्न पाए सहज हुन्थ्यो ।’ विद्यालयका प्रध्यानाध्यापक समेत रहेका रखाल भन्नु हुन्छ । विद्यालयलाई ‘नमस्ते नेपाल’ जस्ता केही गैरसरकारी संस्थाहरूले पनि सहयोग गरेका छन् ।
अहिले शिक्षित बेरोजगारी बढिरहेको अवस्थामा आफ्नो स्कुलले भने त्यस्तो विद्यार्थी उत्पादन नगर्नेमा रखाल ढुक्क हुनुहुन्छ । ‘ज्ञान रहितको शिक्षाले मात्र बेरोजगार उत्पादन गर्छ । मैले ज्ञान र सामाजिक व्यवहार सहितको शिक्षा प्रदान गर्ने स्कुल स्थापना गरेको छु ।’ रखालको दाबी छ ।
विद्यालयको एसएलसी/एसइईको नतिजा शतप्रतिसत छ । अनुभवी शिक्षकशिक्षिका तथा मेहनती विद्यार्थी भएकै कारणले ग्रेसको शैक्षिक स्तर राम्रो छ ।








