चुनावी तालमेल गर्न लागिएको भन्दै नेकपा एमालेमा बिवाद

बिराटनगर । बिराटनगर महानगरपालिकामा नेपाल लोकतान्त्रिक फोरमसँग चुनावी तालमेल गर्न लागिएको भन्दै नेकपा एमालेमा बिवाद देखिएको छ । एमाले अध्यक्ष केपी ओलीकै पहलमा लोकतान्त्रिक फोरमलाई उपमेयर दिएर तालमेल गर्ने निर्णय भएसँगै बिवाद देखा परेको हो ।

बिराटनगरमा हुन लागेको तालमेलबारे औपचारिक सहमति बाहिर नआउँदै एमाले भित्रको असन्तुष्टि बाहिर आएको हो । एमालेको स्थायी समितिले यस अघि महानगरको मेयरमा बिनोद ढकाललाई उम्मेद्वार बनाउँदै तालमेलका लागि उपमेयरको उम्मेद्वार तय गरेको थिएन । एमालेबाट उपमेयरमा साबित्रा रेग्मी, बिमला घिमिरे लगायत दाबेदार छन् । अनेरास्ववियुका केन्द्रीय सदस्य तथा एमाले जिल्ला कमिटि सचिवालय सदस्य वसिम आलमले यस्तो तालमेलले एमालेलाई घाटा हुने बताउनुभयो। उहाँले एमालेले आफ्नै सदस्यलाई उपमेयरमा उठाएमा जित सुनिश्चित हुने भएकाले अर्को पार्टिसँग समिकरण गर्न जरुरी नरहेको बताउनुभयो ।
स्ववियु चुनावका बखत २०३८ सालमा बिराटनगरमै एमालेका फणिन्द्र तिम्सिनाको हत्या गर्ने बिजय गच्छदारको पार्टीसँग भएको गठबन्धन स्वीकार गर्न नसकिने एमाले कार्यकर्ताको भनाई रहेको छ । यो तालमेलले एमालेमा आबद्ध महिला नेतृहरु माथि अन्याय हुने एमालेमा आबद्ध महिला सदस्यहरूको भनाई रहेको छ । एक्लै जित्ने आधार प्रशस्त हुँदाहुँदै लोकतान्त्रिक फोरमलाई महानगरको उपप्रमुख पद समर्पण गर्न लागिएको भन्दै एमालेका केही जिल्ला नेता तथा कार्यकर्ताले चुनावमा यसले परिणाम ‘अर्कै ल्याउने’ चेतावनी समेत दिए ।
यता एमाले जिल्ला सचिवालय सदस्य रुपेश खतिवडा यो तालमेलले स्थानीय कार्यकर्तामा असन्तुष्टि पैदा भएको बताउनु हुन्छ । महानगर भित्र पर्ने ६ र ७ नम्बर निर्वाचन क्षेत्रमा लोकतान्त्रिक फोरमको पकड रहेको गत संविधानसभाको मत अनुसार देखिन्छ । दोस्रो संबिधानसभा निर्वाचनमा ६ नम्बर क्षेत्रमा लोकतान्त्रिकका भक्ति माझी र ७ नम्बर क्षेत्रमा लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छदार निकटतम प्रतिद्वन्दी बनेका थिए । महानगरमा जोडिएका तीनवटै क्षेत्रमा नेपाली कांग्रेसले जीतेको थियो ।








