बुटवललाई प्रदेश राजधानी नबनाए अखण्ड लुम्बिनी भन्दा चर्काे आन्दोलन : पौडेल
“
पुस ६, बुटवल । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले बुटवललाई प्रदेश ५ को राजधानी नबनाए आन्दोलन चर्काउने चेतावनी दिएका छन् । प्रदेश ५ बाट मुख्यमन्त्रीका दावेदार एमाले नेता शंकर पोखरेलले दाङलाई राजधानी नबनाए आन्दोलन गर्ने बताइरहँदा एमालेकै उपमहासचिव पौडेलको यस्तो चेतावनी आएको हो ।
शंकर पोखरेल सहित माओवादी नेता कृष्णबहादुर महराले पनि दाङलाई नै राजधानी बनाउनुपर्ने बताउँदै आएका छन् ।
बिहीबारदेखि बुटवलमा सुरु भएको राष्ट्रिय औद्योगिक प्रदर्शनीको उद्घाटन कार्यक्रममा उनले प्रदेश न ५ को राजधानी बुटवल नै बनाउनुपर्ने भन्दै अन्यथा भए अखण्ड लुम्बिनीको जस्तै आन्दोलन चर्किने चेतावनी दिए । पौडेलले भने, ‘बुटवल बाहेक अन्यथा निर्णय हुने सुनिएको छ, यसो भए हामी सडकमा उत्रिन्छौं ।’
प्रदर्शनको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका थिए । प्रदर्शनीमा ६ लाख बढी दर्शक ल्याउने र ५ करोड बढीको ब्यापार गर्ने आयोजक रुपन्देही उद्योग संघको लक्ष्य छ ।
“