भरतपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशक नियुक्ति विरुद्ध सर्वोच्चमा मुद्दा


जेठ, २७ चितवन । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नियम विपरित कार्यकारी निर्देशक नियुक्त गरिएको भन्दै सर्वोच्चमा मुद्दा दायर गरिएको छ । अस्पतालकै बरिष्ठ चिकित्सकहरूले कार्यकारी निर्देशक नियुक्ति नियम संगत नभएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् ।
अस्पतालका अध्यक्ष डा. प्रकाश न्यौपाने नेतृत्वको ३ सदस्यीय पदपूर्ति समितिले गत बैशाख २४ गते डा. विजय आचार्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।
भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशकसमेत रहेका भरतपुर क्यान्सर अस्पतालका अध्यक्ष डा. प्रकाश न्यौपानेले निर्वाचन आचारसंहिता लागेको बेला प्रचलित ऐन, कानुन, विधि र बिधान मिचेर कनिष्ट चिकित्सक डा. आचार्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको भन्दै अस्पतालमा कार्यरत ७ जना चिकित्सकहरूले सर्वोच्चमा मुद्दा दायर गरेका हुन् ।
सोही समयमा रेडियसन अंकलोलोजी विभाग प्रमुख डा. सुरेश श्रेष्ठ पनि वोर्ड सदस्यमा नियुक्त भएका थिए ।
अस्पतालको नियममा क्यान्सरको कुनै विधामा स्नातकोत्तर उपाधी लिएर १० वर्ष काम गरेको वा कन्सल्ट्यान्ट भएर काम गरेको व्यक्ति मात्रै कार्यकारी निर्देशक हुनुपर्ने व्यवस्था भएपनि कार्यकारी निर्देशक डा. आचार्य १ महिना अघि मात्रै फाइल बढुवा भएर कन्सल्ट्यान्ट बनेका थिए ।
डा. न्यौपानेको सेवा अवधि ४ वर्ष मात्रै पुगेको हुनाले उनलाई कार्यकारी निर्देशक बनाउन फाइल बढुवा गरी कन्सल्ट्यान्ट नियुक्त गरिएको मुद्दा दायर गर्ने चिकित्सकहरुको दावि छ ।
क्यान्सर अस्पताल कार्यसञ्चालन तथा व्यवस्थापन नियमावली–२०६६ को दफा १५ को उपदफा १ मा कार्यकारी निर्देशक नियुक्तिका लागि ३ जनाको पदपूर्ति समिति बनाउने उल्लेख छ । समितिमा अस्पताल सञ्चालक समितिले तोकिदिएको १ जना सदस्य संयोजक र अध्यक्षले तोकेको एक जना वोर्ड सदस्य (चिकित्सकहरुको तर्फबाट) र स्वास्थ्य मन्त्रालयको एक जना प्रतिनिधि रहने व्यवस्था छ ।
कार्यकारी निर्देशक नियुक्तिका लागि बैशाख १४ गते राष्ट्रिय दैनिकमा विज्ञापन प्रकाशन भएपछि १३ जना चिकित्सकहरूले आवेदन दिएका थिए । कार्यकारी निर्देशकका लागि आवेदन दिनेमा बरिष्ठ कन्सल्टेन्ट चिकित्सकहरू डा. सिवी पुन, डा. लक्ष्मी नारायण सिंह, डा. विनय ठाकुर, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्व उपकूलपति डा. संगीता भण्डारी र डा. आचार्य लगायत थिए ।
अस्पतालको कार्यकारी निर्देशक भएर आएपछि डा. विजय आचार्यले केही सुधार गरेका थिए । उनले अस्पतालमा कार्यरत दैनिक ज्यालादारीमा काम गर्दै आएका कर्मचारीहरुलाई मासिक ज्यालादारीमा काम लगाउने व्यवस्था गरे । भने, क्यान्सर अस्पताल सञ्चालक समितिले १६५ जनाको दरवन्दी समेत सिर्जना गरेको छ ।








