मेरो उम्मेदवारी समग्र विराटनगरको विकासका लागि


दोस्रो चरणको स्थानीय निर्वाचन नजिकिँदै जाँदा मोरङमा चुनावी चलहपहल बढेको छ । मोरङको विराटनगर ऐतिहासिक सहर पनि भएकोले यो क्षेत्रको निर्वाचनमा धेरैको ध्यानाकर्षण भएको छ । विराटनगर वडा नं. २ बाट वडाध्यक्षमा उम्मेदवारी दिन लाग्नु भएका युवा व्यवसायी महेश बाहेतीले वडाको विकासमा दीर्घकालीन योजना नै अघि सार्नुभएको छ । उक्त विषयमा उहाँसँग गरिएको कुराकानीको संक्षेपः

तपाईँले विराटनगर २ नं. वडा बाट उम्मेदवारी दिने तयारी गर्नुको कारण के हो ?

ऐतिहासिक विराटनगर नगरको २ नं. वडाको सामाजिक, आर्थिक विकास गर्नका लागि मैले १० वर्षको कार्य योजना नै बनाएर लागेको छु । मेरो उम्मेदवारी भनेको समग्र वडाको विकास यहाँका जनताको चाहना अनुसार हुनेछ । म कुनै पार्टीगत रूपमा उम्मेदवारी दिने भन्दा पनि मेरो एजेण्डा र विकास तथा कार्य योजना प्रति सहमत हुने पार्टीबाट उठ्ने छु ।

२ नं. वडाका समस्याहरू के के देख्नु भएको छ ?

यहाँको मुख्य समस्या भनेको सडक, ढल खानेपानी जस्ता विकासका सामान्य पूर्वाधार पनि छैनन् । २० वर्षसम्म जनप्रतिनिधी नभएको अवस्थामा स्थानीय जनताले विकासका पूर्वाधार पाउन सकेका छैनन् । विराटनगर जस्तो ऐतिहासिक सहर भएरपनि यो क्षेत्र पछाडि परेको छ । भने, वडागत रूपमा सरकारले गर्नुपर्ने धेरै कामहरू अलपत्र छन् ।

तपाईँले यो वडाको समग्र विकासका लागि के कस्ता योजना सोच्नु भएको छ ?

म यही वडामा जन्मिएँ, यहीँ हुर्र्किएँ । यस हिसाबले यो क्षेत्रको मुख्य समस्या केके छन् त्यसलाई राम्ररी नियालेको छु । यहाँका जनता के चाहन्छन् त्यो पनि बुझेको छु । अहिलेसम्म हामीले देश विकास गर्न राजनीतिक दल चाहिन्छ भन्ने बुझ्यौं । तर, स्थानीय क्षेत्रको विकासका लागि स्थानीय व्यक्ति नै लाग्नुपर्दछ । हाम्रा सानादेखि ठुला समस्या हल गर्न यहाँको हरेक घरपरिवारको अवस्था बुझेको, शिक्षित व्यक्तिलाई स्थानीय निकायमा ल्याउन सक्यौं भने विकास हुन सक्छ । यसका लागि मैले १० का लागि दीर्घकालीन र अल्पकालिन योजना नै बनाएको छु ।

तपाईँको उम्मेदवारी कुनै दल विशेषबाट हुन्छ की स्वतन्त्र रूपमा ?

यो स्थानीय निकायको निर्वाचन भएकोले हामीले कुनै दलको एजेण्डाबाट प्रभावित भएर भोट हाल्नु हुन्न । हामीसँग जो नजिक हुन्छन् । हाम्रो वडाका समस्या जसले हल गर्ने प्रतिबद्धता गर्छन् त्यस्ता व्यक्तिलाई हेरेर भोट हाल्ने हो । जहाँसम्म मेरो उम्मेद्वारीको कुरा छ । मेरा आफ्नै एजेण्डा भएकाले कुनै दलको एजेण्डा बोन्न जान्न । मेरो एजेण्डामा जुन दल सहमत भएर आउँछ त्यो सँग सहकार्य हुन्छ ।

२ नं. वडाका मतदाताको भनाई चाहिँ के रहेको छ ?

यहाँका जनताको विचार पनि दल भन्दा पनि व्यक्तिलाई हेर्ने भन्ने नै छ । त्यही भएरपनि मलाई उम्मेदवारी दिनुपर्छ भन्ने दबाब छ । मेरो भनाई पनि हाम्रालाई हैन राम्रालाई भोट दिउँ भन्ने छ । जो सँग भिजन छ, शिक्षित छ, जसले स्थानीय जनताको आवाज बोक्न सक्छ त्यस्ता व्यक्तिलाई नै चुन्नुपर्छ भन्ने छ ।

अन्तमा, तपाईका मतदातालाई के भन्नु हुन्छ ?

विशेष गरी यो क्षेत्रका मतदाताले मलाई यस पटक अध्यक्षमा उठ्नुपर्छ भनेर नै साथ र सहयोग गर्नुभएको छ । यो वडाका लागि मात्र हैन समग्र विराटनगरको विकासका लागि मेरो उम्मद्वारी हुनेछ भन्ने आम मतदातामा जानकारी गराउँछु ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + seventeen =