राष्ट्रिय सभा अध्यादेश प्रमाणीकरण नगर्न राष्ट्रपतिलाई दबाव

पुस ५, काठमाडौं । राष्ट्रिय सभाको निर्वाचनसम्बन्धि अध्यादेश प्रमाणीकरण गर्न सरकारले दवाव दिईरहेका बेला बाम गठबन्धनका शिर्ष नेताद्धय केपी ओली र पुष्पकमल दाहालले राष्ट्रपतिलाई विधेयक प्रमाणिकरण नगर्न दबाव दिएका छन् । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेर ओली र दाहालले राष्ट्रिय सभाको निर्वाचनसम्बन्धि अध्यादेशमा प्रमाणिकरण नगर्न दबाव दिएका हुन् ।

राष्ट्रपति भण्डारीले भने सो विधेयकमा सहमति जुटाउन एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालसँग आग्रह गरेकी छन् । राष्ट्रपति भण्डारीले अध्यादेशमा देखिएको विवाद तत्काल समाधान हुने गरी पहल गरिदिन आग्रह गरेकी हुन् ।


बुधबार विहान राष्ट्रपति भवन सितल निवासमा करिव २ घण्टा भएको भेटवार्तामा राष्ट्रपति भण्डारीले राष्ट्रिय सभाको निर्वाचनसम्बन्धि अध्यादेश अघि बढन नसक्दा सरकार गठन प्रक्रियामा समेत ढिलाई हुनेतर्फ पनि दुवै नेताको गम्भिर ध्यानाकर्षण गराएकी थिईन् । राष्ट्रपतिले अध्यादेशमा देखिएको विवाद समाधान गरेर अघि बढन बाम गठबन्धन दुवै नेतालाई एकैसाथ राखेर ध्यानाकर्षण गराएको राष्ट्रपतिका मुख्य स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

राष्ट्रिय सभाको निर्वाचन सम्बन्धि ऐन पारित हुन नसक्दा निर्वाचन आयोगले समानुपातिक तर्फ दलहरुले प्राप्त गरेको सिट संख्या समेत तय गर्ने प्रक्रिया अघि बढाउन सकेको छैन । यसै विषयमा गत शनिवार राष्ट्रपति भण्डारीसँग भेट गरी प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यादेश तत्काल प्रमाणीकरण गर्न आग्रह गरेका थिए ।

यता, एमालेले भने एकल संक्रमणीय निर्वाचन प्रणालीको आधारमा राष्ट्रिय सभाको निर्वाचन सम्पन्न गराउने व्यवस्थासहित सरकारले तयार पारेको अध्यादेश संविधान विपरित भएकाले राष्ट्रपतिले प्रमाणीकरण गर्न नमिल्ने तर्क गर्दै आएको छ । एमाले र माओवादी केन्द्रले बहुमतीय प्रक्रियाबाट मात्रै राष्ट्रिय सभाको निर्वाचन गराउनुपर्नेमा जोड दिएपछि संसदबाट समेत यो विधेयक पारित हुन सकेको थिएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *