शौचालय नबनाए सरकारी सेवा नपाईने


“
पुस ५, भोजपुर । सेफ्टी ट्यांकीसहितको शौचालय निर्माण नगर्ने भोजपुरवासीलाई सरकारी सेवा सुविधा नदिने निर्णय भएको छ।
भोजपुर जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्नका लागि पटकपटक निर्णय गरी मिति तोक्दा पनि स्थानीयले बेवास्ता गरी शौचालय निर्माण नगरेको भन्दै स्थानीय सरकारले यस्तो निर्णय गरेको हो।
जिल्लाका सबै गाउँपालिका यसअघि नै खुल्ला दिसामुक्त घोषणा गरिएको भए पनि भोजपुर नगरपालिकाको ७ र ९ नं वडाको केही स्थानीयले जग्गाको समस्या देखाउँदै सेफ्टी ट्यांकीसहितको शौचालय निर्माण नगर्दा जिल्ला खुल्ला दिसामुक्त हुनबाट रोकिएको छ।
मंगलबार बसेको सर्वदलीय सर्वपक्षीय भेलाले आगामी माघ १५ गतेसम्ममा सबैलाई शौचालय निर्माण गर्न अनुरोध गर्ने र त्यो समयमा पनि शौचालय निर्माण नगर्नेको राज्यबाट पाउने सेवा सुविधा नै कटौती गर्ने भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आलेले बताए। यसका लागि घरघरमा पत्राचार गर्ने, स्थानीय सञ्चार माध्यमबाट सूचना सम्प्रेषण गर्ने बताइएको छ।
“
