काठमाडौं किङ्स एलाभेन विरुद्ध ललितपुर विजयी

“
पुस ३, काठमाडौं । एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटको उदघाटन खेलमा ललितपुर प्याट्रिअट्सले विजयी सुरुवात गरेको छ । ललितपुरले काठमाडौं किङ्स एलाभेनलाई ७ विकेटले पराजित गर्याे ।
ललितपुरको जितमा ब्याटिङ र बलिङ दुवैमा विदेशी खेलाडीको प्रदर्शन निर्णायक रह्यो । कीर्तिपूरस्थित टियू क्रिकेट मैदानमा सोमबार सम्पन्न खेलमा काठमडौंले दिएको ९० रनको सामान्य लक्ष्य राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लको टोली ललितपुरले १६.४ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्याे ।
ललितपुरका लागि भारतीय ब्याट्सम्यान जयकिसन कोल्सावालाले सर्बाधिक अविजित ४४ रन बनाए । ओपनर कोल्सावालाले ४८ बल खेलेर ४ चौका र २ छक्का प्रहार गरे । ललितपुरका लागि कप्तान मल्लले पनि २० रन बनाए । अर्का ओपनर पवन सर्राफ खाता नखोली आउट भएपछि मल्ल र कोल्सावालाले दोस्रो विकेटका लागि ५४ रनको अर्धशतकीय साझेदारी गरेका थिए ।
ललितपुरका लागि अर्का भारतीय खेलाडी योगेश नागरले २ रनमात्र बनाउँदा राजवीर सिंहले अविजित १४ रन बनाए । काठमाडौंका लागि मेरेनागे फर्नाण्डोले २ तथा सोमपाल कामीले १ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले १८.३ ओभरमा अलआउट हुँदै ८९ रनमात्र बनाउन सक्यो । ओपनर अमित श्रेष्ठले २७ रन बनाउनुबाहेक अन्यले सन्तोषजनक रन बनाउन सकेनन् ।
उसका लागि श्रीलंकाली ब्याट्सम्यान अक्षु फर्नाण्डेजले १५ र सोमपाल कामीले १४ रन बनाएका थिए । काठमाडौंका चार व्याट्सम्यान खाता नखोली पेविलियन फर्केका थिए । बलिङतर्फ ललितपुरका भारतीय बलर सुबोध भाटीले सर्बाधिक ४ विकेट लि“दा ललित राजवंशीले ३ तथा मेहवुव आलमले २ र योगेश नागरले १ विकेट लिए ।
“








