बल्ल भयो मतको छिनोफानो : संसदमा पाँच दलको हालीमुहाली !

काठमाडौं,पुस २। बाँकी रहेको प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीको मतगणना सकिए सँगै मतको छिनोफानो भएको छ । यसरी सबैभन्दा बढी मत पाएर देशको पहिलो पार्टी एमाले बन्न सफल भएको छ । निर्वाचन आयोगका अनुसार कूल एक करोड पाँच लाख बेसी मत मध्ये ९५ लाख ४४ हजार ७४१ मत सदर भएको थियो भने ३१ लाख ७३ हजार ४९४ मत सहित एमाले पहिलो दल बनेको छ ।

 

दोस्रो दल बन्न सफल भएको कांग्रेसले ३१ लाख २८ हजार ३८९ मत पाएको छ । एमालेले कांग्रेस भन्दा ४५ हजार १०५ मत बढी पाएको छ ।उता, तेस्रो दल बन्न सफल माओवादीले १३ लाख ३ हजार ७२१ मत मात्रै पाएको छ । त्यस्तै, समानुापातिकतर्फ चौथो बनेको राजपाले ४ लाख ७२ हजार २५४ र संघीय समाजवादी फोरमले ४ लाख ७० हजार २०१ मत पाएका छन् ।

विवेकशील साझा पार्टीले २ लाख १२ हजार ३६३ र राप्रपाले १ लाख ९६ हजार ७८२ मत पाएका छन् । राप्रपा प्रजातान्त्रिकले ८८ हजार ३७७, नयाँ शक्तिले ८१ हजार ८३७ र राष्ट्रिय जनमोर्चाले ६२ हजार १३३ मत पाएका छन् ।

हाल यी सबै कामकाजहरु जिल्लाबाट अंक र अक्षरमा मत परीणाम मगाएर इन्ट्री गर्ने काम भइरहेको र यसको एक दुई दिनमा सकिने बताइएको छ । प्रतिनिधिसभाको समानुपातिकमा ३ प्रतिशत थ्रेसहोल्ड लागू गरिएको छ जसमध्ये कुल सदर मतको ३ प्रतिशत अर्थात २ लाख ८६ हजार ३४२ मत नपाएका दलहरुले समानुपातिक सिट पाउने छैनन् ।

उक्त मत परिणामलाई आधार मान्दा समानुपातिकमा पाँच दलले मात्र सिट पाएका छन् भने पाँच दलले मात्रै राष्ट्रिय पार्टी बन्न सफल भएका छन् । यसरी हेर्दा, समानुपातिकतर्फ एमालेले ४१ सिट पाउँदा कांग्रेसले ४० सिट पाउनेछ । माओवादी केन्द्रले १७ सिट पाउने देखिन्छ भने राजपा र फोरमले समान ६÷६ सिट पाउनेछन् ।

यता,नयाँ दल विवेकशील साझा समानुपातिकतर्फ छैटौं स्थानमा रहे पनि थ्रेस होल्ड पार गर्न सकेन । दोस्रो संविधानसभामा समानुपातिकतर्फ २४ सिट पाएको अध्यक्ष कमल थापाको राप्रपाले पनि थ्रेस होल्ड पार गर्न असफल रहृयो । त्यस्तै,पशुपति शम्शेर राणाको राप्रपा प्रजातान्त्रिक, डा. बाबुराम भट्टराईको नयाँ शक्ति र चित्रबहादुर केसी नेतृत्वको जनमोर्चा र नारायणमान विजुक्छे नेतृत्वको नेमकिपा पनि थ्रेस होल्डका कारण समानुपातिकमा सिट पाउन असफल रहेसँगै राष्ट्रिय पार्टी बन्नबाट बञ्चित भएका छन् ।

तर,प्रतिनिधिसभा प्रत्यक्षमा १ सिट पाएका पार्टीहरुले भने स्वतन्त्र सांसदको हैसियतमा संसदमा प्रतिनिधित्व गर्न पाउँनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *