बिमामा विकृति संस्थागत हुँदै गएकोमा विज्ञको चिन्ता


“
पुस १, काठमाडौं । विज्ञहरुले नेपाली बिमा बजारमा प्रतिस्पर्धाको नाममा अनेकौँ विकृति भित्रिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । विश्वव्यापी रूपमा बिमाका नयाँ प्रविधि र तरिका आइरहेका बेला नेपाली बजारमा प्रतिस्पर्धाको नाममा विकृतिहरु भित्रिएको र ती विकृति बिस्तारै संस्थागत हुँदै गएको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका हुन् ।
शनिवार राजधानीमा बिमा समिति र नेपाल वित्तीय संस्था कर्मचारी सङ्घले संयुक्त रूपमा गरेको बिमा क्षेत्रको विकास र स्थायित्व विषयक अन्र्तरक्रियामा सहभागी विज्ञले बिमा कम्पनी र विमित दुवैका लागि बजारमा देखिएका विकृति मुख्य चुनौती रहेको बताए ।
राष्ट्रिय बिमा संस्थानका पूर्व कार्यकारी प्रमुख आश्विनी कुमार ठाकुरले बजार प्रतिस्पर्धा अवसर र चुनौती दुवै भएको भन्दै प्रतिस्पर्धाको रूपमा विभिन्न विकृतिहरु आएका र ती प्रणाली नै बनिसकेको भन्दै चिन्ता व्यक्त गरे ।
राष्ट्रिय बिमा संस्थानका पूर्व कार्यकारी प्रमुख ठाकुरले बिमा समितिले बनाएको लगानी नीतिका कारण अर्थतन्त्रको मूल प्रवाह र भूमिकामा बिमा कम्पनीहरू आउन नसकेको बताए । नीतिले लगानीको क्षेत्रलाई अध्याधिक सीमित गरेकाले समस्या भएको उनको भनाई थियो ।
कार्यक्रममा अर्थमन्त्रालयका सह सचिव उदयराज सापकोटाले बिमाको उपादेयता र लाभका बारेमा जनस्तरसम्म जनचेतना फैलाउनुपर्ने बताए । देशको आर्थिक स्थिति माथि नपुगेन्जेल बिमा बजारको विकास हुन नसक्ने भए पनि बिमाको नयाँ आयाम र योजनामार्फत बजार विस्तार गर्न सकिने बताए ।
कार्यक्रममा सरोकारवालाहरुले बिमा सम्बन्धी नीति निर्देशिकाको प्रभावकारी कार्यान्वयन, बिमा व्यवसाय अभिवृद्धिका लागि राज्यले प्रोत्साहन नीति ल्याउनुपर्ने, लाइसेन्स नीतिमा देखिएको जटिलतालाई सरल बनाउनुपर्नेमा जोड दिएका थिए ।
“
