कैलालीमा मतदाता परिचयपत्र वितरण शुरु

विष्णु जोशी, धनगढी । बुधबार हुने दोस्रो चरणको निर्वाचनका लागि आइतबार कैलालीमा मतदाता परिचयपत्र वितरण शुरु भएको छ । कैलाली सहित प्रदेश नम्बर ७ का एक हजार सात सय मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण कार्य शुरु भएको क्षेत्रीय निर्वाचन कार्यालय धनगढीले जानकारी दिएको छ । क्षेत्रीय निर्वाचन कार्यालयका अनुसार आइतबार कैलाली जिल्लाको चार सय ९० मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण शुरु भएको छ । निर्वाचन अधिकृत मोहन अर्यालले मतदान केन्द्रहरूमा परिचयपत्र लिनेको आइतबारदेखि नै भीड लागेको  र अझै पनि पुरा नभएको बताए ।

निर्वाचन कार्यालयले मतदाता परिचयपत्र वितरणसंगै मतदाता शिक्षा कार्यक्रम पनि सञ्चालन गरेको छ । आइतबार शुरु परिचय वितरण कार्य मंगलबार सम्म सञ्चालन हुने छ जनाइएको छ । कार्यालयले सही मतदानबारे जानकारी दिन मतदाता परिचयपत्र वितरणसँगै मतदाता शिक्षा पनि दिन लागेको जनाएको छ । मत बदर हुन नदिने र सही तरिकाले मत बाकसमा खसाल्न सिकाउने निर्वाचन अधिकृत मोहनराज अर्यालले जानकारी दिनुभयो । उनका अनुसार यस पटक एउटै मतपत्रमा सात लहरमा निर्वाचन चिन्ह राखिएका छन् । हरेक मतदाताले प्रत्येक कोठामा एउटा मात्र स्वस्तिक छाप लगाउनुपर्ने हुन्छ । यसरी लगाएको छाप, पहिलो लहरमा नगरपालिका वा गाउँपालिकाको प्रमुखका लागि हुने, दोस्रोमा उपप्रमुखका लागि र तेस्रोमा वडाध्यक्षका लागि हुनेछ । त्यस्तै, चौथो लहरमा महिला सदस्य र पाँचौ लहरमा दलित महिला सदस्यका लागि छाप लगाउनु पर्नेछ । पछिल्लो छैटौं र सातौं लहरमा भने खुला वडा सदस्यका लागि छाप लगाउनु पर्नेछ । यसमा मतदाताको इच्छाअनुसार छैटौं कोठामा मात्र वा सातौंमा मात्र लगाउन सकिने वा छैटौं र सातौं दुवैमा एक एक वटा छाप लगाउन पनि सकिने निर्वाचन कार्यालयले जनाएको छ ।

कार्यालयले मतदातालाई आइतबारदेखि मंगलबारसम्ममा मतदान केन्द्रबाट आफ्नो मतदाता परिचयपत्र लिन समेत  आग्रह गरेको छ । मतदाता परिचयपत्र लिन आउँदा आफ्नो परिचय खुल्ने नागरिकता वा अन्य परिचयपत्र अनिवार्य आवश्यक रहने छ । क्षेत्रीय निर्वाचन कार्यालयका अनुसार कैलालीमा चार लाख तीन हजार दुई सय ८० मतदाता रहेका छन् । धनगढी उपमहानगरपालिकामा ७६ हजार चार सय ३० मतदाता रहेका छन् । त्यस्तै, टीकापुर नगरपालिकामा ३९ हजार एक सय ९२, लम्की चुहा नगरपालिकामा ३९ हजार दुई सय ६५, घोडाघोडी नगरपालिकामा ३९ हजार छ सय ८९, भजनी नगरपालिकामा २६ हजार नौ सय ५२, गौरीगंगा नगरपालिकामा २८ हजार चार सय ७९ र गोदावरी नगरपालिमा ४१ हजार आठ सय २९ मतदाता रहेका छन् । यसैगरी, कैलारी गाउँपालिकामा २९ हजार नौ सय ९६, बर्दगोरिया गाउँपालिकामा १५ हजार सात सय, जोशीपुर गाउँपालिमा १९ हजार तीन सय ६५, जानकी गाउँपालिकामा २७ हजार चार सय ५८, चुरे गाउँपालिकामा नौ हजार सात सय ४६ र मोहन्याल गाउँपालिकामा नौ हजार दुई सय १७ मतदाता रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + fifteen =