एमालेले अवरोध नहटाएपछि संसद बैठक तीन बजेसम्म स्थगित


चितवनको भरतपुर महानगरपालिका वडा नं. १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयबाट असन्तुष्ट बनेको प्रमुख विपक्षी दल नेकपा एमालेले व्यवस्थापिका संसदको अवरोध कायमै राख्ने भएपछि संसद बैठक ३ बजेसम्म स्थगित भएको छ। जसले गर्दा आज हुने प्रधानमन्त्री निर्वाचन समेत प्रभावित हुने भएको हाे । आजको बैठकमा प्रधानमन्त्रीको निर्वाचन गर्ने कार्यसूचि छ।
संसद बैठक विहान ११ बजे बोलाइएको थियो। प्रधानमन्त्रीका लागि कांग्रेस सभापति शेरबहादुर देउवाको मात्र उम्मेदवारी परेको छ। यसैबीच संसदको अवरोध खुलाएर संविधान र नियमावली बमोजिम प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्ने विषयमा सभामुखले संसदमा रहेका प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल र सहमतिको प्रयास शुरु गर्न लागेकी छन्।
सभामुख ओनसरी घर्तिमगरले सचेतकहरुसँग गरेको छलफलबाट कुनै निश्कर्ष नआएपछि प्रमुख दलका नेताहरुसँग छलफल गर्न भन्दै बैठक तीन बजेसम्म स्थगित गरेकी हुन्। बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता केपी ओली अनुपस्थित छन्।
संविधानको धारा २९८ को उपधारा ३ बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री चयन प्रक्रिया अघि बढाउन दिएको निर्देशन अनुसार सभामुख घर्तिमगरले आज नियमावली अनुसार प्रधानमन्त्रीको निर्वाचन गराउने कार्यक्रम तय गरेकी थिइन्। एमालेले भने भरतपुर महानगरमा मतगणना सुचारु गर्न माग गर्दै लगातार संसद अवरुद्ध पार्दै आएको छ।
