मुख्यमन्त्रीको दौडधुपमा नेताहरु, प्रदेश नं ३ मा मुख्यमन्त्री को ?


“
पुस १, काठमाण्डौ । प्रदेश नं ३ प्रदेशसभामा वाम गठबन्धनले ६६ मध्ये ५७ सिट जीत हासिल गरेपछि मुख्यमन्त्रीका लागि दौडधुप सुरु भएको छ । मुख्यमन्त्रीको आकांक्षीमा नेकपा (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यदेखि काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख केशव स्थापितसम्म देखिएका छन् ।
यस्तै,मुख्यमन्त्रीको आकांक्षीको रुपमा एमाले पोलिटब्यूरो सदस्यद्वय राजेन्द्र पाण्डे र सानुकुमार श्रेष्ठ, पशुपति चौलागाईं, अरुण नेपाललगायत देखिएका छन् ।
उपाध्यक्ष शाक्य प्रमुख दाबेदारका रुपमा रहेकी छन् । उनीहरु अहिले आफू मुख्यमन्त्री बन्नका लागि दौडधूपमा रहेका छन् । एमाले उपाध्यक्ष शाक्यले पार्टीको प्रदेश प्रमुख भएको नाताले मुख्यमन्त्री आफू नै हुने दाबी गरिन् । ‘‘प्रतिनिधिसभामा नगई मैले मुख्यमन्त्रीको लागि नै प्रदेशसभामा प्रतिनिधित्व गरेको हुँ’ उनले भनिन्–‘‘सबै साथीले पनि मलाई अघि सार्नुभएको छ ।’’
पोलिटब्यूरो सदस्य श्रेष्ठले आफू ३ नं प्रदेशको बारेमा जानकार रहेकोले आफू नै मुख्यमन्त्री बन्ने बताए । उनले प्रदेशलाई नमूना बनाउनका लागि आफू नै योग्य भएको दाबी गरे । ‘‘प्रदेश बनाउनका लागि सजिलो र चुनौती दुवै रहेको छ’’ उनले भने, ‘‘तर म ती सबैलाई मिलाउँदै प्रदेशलाई नमूना बनाउन सक्दछु ।’’ प्रदेश नं ३ को अस्थायी मुकाम मकवानपुरको हेटौंडा तोकिएको छ । काठमाडौँ महानगरका पूर्व प्रमुख स्थापितले आफूले काठमाडौँको विकास गरेको आधारमा मुख्यमन्त्रीको दाबी गरेको बताए ।
‘
प्रदेश नं ३ मा एमालेले ४२, माओवादी केन्द्रले १५, काँग्रेसले सात तथा नेपाल मजदुर किसान पार्टी र नयाँ शक्ति नेपालले एक÷एक सिट जितेका छन् । प्रदेश नं ३ मा काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाञ्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर, चितवन, धादिङ, दोलखा, रामेछाप, सिन्धुली, रसुवा र नुवाकोटल जिल्ला रहेका छन् ।
प्रदेशसभाको अन्तिम परिणाम सार्वजनिक भएको २० दिनभित्र प्रदेशसभा गठन हुने संवैधानिक व्यवस्था रहेको छ ।”
