रोमान्चक खेलमा जर्मनी ३-२ ले विजयी

एजेन्सी – रसियामा जारी फिफा कन्फेडेरेसन कप अन्तर्गत सोमबार भएको खेलमा जर्मनीले अष्ट्रेलियालाई ३-२ ले पराजित गर्दै समूह ‘बी’ को अंक तालिकामा महत्तपूर्ण ३ अंक जोडेको छ ।

खेलको पाँचौ मिनेटमा लार्स स्टीन्डलको गोलमा अग्रता लिएको जर्मनीले ४१ औं मिनेटमा बराबरी गोल खाएको थियो । टम रगीचले अष्ट्रेलियाका लागि बराबरी गोल फर्काएका थिए । खेलको मध्यान्तर नजिकिदै गर्दा अष्ट्रेलियाका मास्सिमो लुओंगोले बक्सभित्र फल हानेपछि जर्मनीले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीलाई कप्तान जुलियन ड्रयाक्स्लरले गोलमा परिणत गर्दै जर्मनीलाई खेलमा पुन: अग्रता दिलाएका थिए ।
दोश्रो हाफ सुरु भएको ३ मिनेट नबित्दै लियोन गोरेट्जकाले गोल गर्दै जर्मनीको अग्रता दोब्बर पारेका थिए । तर पहिलो हाफको तुलनामा दोश्रो हाफमा केहि सुधारिएको प्रदर्शन गरेको अष्ट्रेलियाले खेलमा फर्कने लक्षण देखायो । ५८औं मिनेटमा टमी ज्युरीचले गोल गर्दै खेललाई ३-२ को स्थितिमा पुर्याएका थिए । खेलको ७५ औं मिनेटमा जर्मनीका टिमो वेर्नरले हानेको प्रहार पोष्टमा लगेर फर्किएपछि जर्मनीले अग्रता बढाउने मौका गुमाएको थियो ।
आइतबार भएको समूहको पहिलो खेलमा चिलीले क्यामरुनलाई २-०ले पराजित गरेको थियो । चिली समुहको शीर्ष स्थानमा छ भने जर्मनी दोश्रो स्थानमा रहेको छ।









