ओली–प्रचण्ड दुबैले आलोपालो प्रधानमन्त्री चलाउने सहमति भएको बामदेवको खुलासा


“
पुष १, काठमाण्डौ । नेकपा एमालेका उपाध्यक्ष बामदेब गौतमले केपी ओली र प्रचण्ड दुवै नेता आलोपालो प्रधानमन्त्री बन्ने बताएका छन् । माओवादीसँग चुनावी तालमेल गर्दा नै दुवै दलका अध्यक्षले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको गौतमले खुलासा गरेका हुन् ।
एमालेका केही नेताहरुले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदमा अध्यक्ष केपी ओली नै रहने सार्बजनिक अभिब्यक्ति दिइरहेका बेला तालमेलका मुख्य सूत्रधार मानिएका नेता गौतमले भने प्रधानमन्त्री नै आलोपालो चलाउने गरी चुनावी तालमेलको सहमति भएको बताएका छन् ।
बीबीसी नेपाली सेवासँग शुक्रबार कुरा गर्दै उपाध्यक्ष गौतमले भने- ‘प्रधानमन्त्री पद आलोपालो चलाउने भन्ने सहमति तालमेल अगाडी नै गरिसकेका हौं, तर घोषणासभामा त्यो कुरा सार्वजनिक गरिएको थिएन ।’
आलोपालो पद्दतीअनुसार कति–कति समय कसले प्रधानमन्त्री चलाउने भन्ने बिषयमा भने ठोस सहमति नभएको उनले बताए । ‘पाँच बर्ष एउटा नेताले, अर्को पाँच बर्ष अर्को नेताले पनि हुनसक्छ, यही कार्यकालमा पनि कसैले दुई बर्ष गर्ने र अर्को कसैले तीन बर्ष गर्ने पनि हुनसक्छ ।’ गौतमले भने– यसमा ठ्याक्कै मिति तोकिएको हैन् ।’
आलोपालोको सहमति केवल प्रधानमन्त्री पदका लागि भएको तर अध्यक्ष पदका लागि नभएको गौतमले बताए । पार्टी एकताको प्रकृया चुनावी तालमेलसँगै सुरु भएको बताउँदै उनले यो प्रकृया छिटै अगाडी बढने बताए ।
माओवादी नेताहरुले सरकार र पार्टीको नेतृत्वका सम्बन्धमा अध्यक्ष प्रचण्ड र केपी ओलीवीच ठोस सहमति भएको बताउँदै आएका छन् । उनीहरुका अनुसार दुई कार्यकारी पद दुई जनालाई बाँड्नेगरी नेताहरुवीच सहमति भएको थियो ।
“
