प्रचण्ड होइन अध्यक्ष र प्रधानमन्त्री दुवै ओलीलाई बनाइन्छ


“
काठमाडौं, मंसिर २९ । निर्वाचनमा गठबन्धन गरेर तेस्रो पार्टी बनेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल कुनै पद नपाउँने भएका छन् । यसअघि बाम गठबन्धनसँगै चुनावपश्चात् तत्काल पार्टी एकता गर्ने र पार्टीको प्रमुख जिम्मेवारी पनि तोकिने बताइएको थियो । तर, एमालेका महासचिव ईश्वर पोखरेलका अनुसार अब पार्टी अध्यक्ष र प्रधानमन्त्री पनि केपी शर्मा ओली नै बन्ने बताए ।
पोखरेलले अबको प्रधानमन्त्री र एकतापछि पार्टीको अध्यक्ष पनि केपी ओली नै बन्ने दाबी गर्दै पार्टी एकता प्रक्रिया र सरकार गठन पनि सँगसँगै अघि बढ्ने पनि बताए। ‘अब बन्ने सरकारको नेतृत्व र पार्टीको पनि नेतृत्व ओलीले नै गर्नुहुन्छ, यसमा कुनै दुविधा छैन,’ उनले सञ्चारकर्मीसँग भने, ‘सरकार गठनको प्रक्रिया अघि बढ्छ। हामी आफ्नो हैसियत अनुसार दाबी प्रस्तुत गर्छौं, दाबी प्रस्तुत गरिसकेपछि यसमा कुनै समस्या पर्छजस्तो मलाई लाग्दैन, मुलुकमा राजनीतिक स्थायित्व कायम गर्नको लागि पनि बहुमतको सरकार चलाउनुपर्छ, जनताले अहिले त्यही जनमत हामीलाई दिएका छन्।’
वाम गठबन्धनको पक्षमा लगभग दुई तिहाई बहुमत आएको बताउँदै पोखरेलले एमाले र माओवादी केन्द्रबीच भागबण्डा गर्दा कुनै आन्तरिक किचलो सिर्जना नहुने पनि दाबी गरे। अब, वर्तमान देउवा सरकारले नयाँ सरकारलाई कुर्सी खाली गर्नुपर्ने पनि बताए । तर, अहिले दुई दलका शिर्ष नेताबीच यसबारेमा छलफल भइरहेको छ । यसको निष्कर्ष भने आउन बाँकी रहेको छ ।
“
