पूर्वराष्ट्रपति यादवलाई १५ दिनभित्र घर छोड्न अल्टिमेटम

कात्तिक २०, काठमाडौं । भाडाको घरमा बस्दै आएका पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई १५ दिनभित्र घर छाड्न घरधनीले अल्टिमेटम दिएका छन् । घर धनी रविभक्त विष्टले सार्वजनिक सूचना मार्फत पुर्व राष्ट्रपति यादवलाई घर खाली गरिदिन आग्रह गरेका हुन् ।

सोमबार दैनिक पत्रिकामा सूचना निकालेर विष्टले घरको भाडा नपाएको र सम्झौतासमेत नवीकरण नगरेको भन्दै राष्ट्रपति कार्यालय शीलतनिवास र पूर्व राष्ट्रपतिको सचिवालयलाई घर खाली गर्न आग्रह गरेका हुन् । विष्टले १५ दिनभित्र आफ्नो घर नछाडे कानुन बमोजिम अघि बढ्ने चेतावनीसमेत दिएका छन् ।

ललितपुर महानगरपालिका–४ बागडोलमा रहेको घरमा २०७२ साल कात्तिक २ गतेदेखि पूर्व राष्ट्रपति यादव बस्दै आएका छन् । घरको सम्झौता गएको साउन १ गते नै सकिए पनि सरकारले नवीकरण र भाडा चुक्ता नगरेको सूचनामा उल्लेख गरिएको छ ।

विष्टले यसअघि पनि आफ्नो घर खाली गरिदिन लिखित तथा मौखिक आग्रह गर्दै आए पनि सुनुवाई नभएपछि सार्वजनिक सूचना नै जारी गर्नुपरेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *