निर्वाचनपछि मुलुक नयाँ युगमा प्रवेश गरेको नेता कृष्णगोपाल श्रेष्ठको भनाई

काठमाडौं, मंसिर २८ । नेकपा (एमाले) का नेता कृष्णगोपाल श्रेष्ठले निर्वाचनपछि मुलुक नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ । काठमाडौँ निर्वाचन क्षेत्र नं ९ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि उहाँले आज नैकाप तथा त्यस आसपास क्षेत्रका स्थानीयसँग विकास निर्माणको छलफल कार्यक्रममा मुलुकमा वाम गठबन्धनको सरकार निर्माण भई देश विकासका कार्यले तीव्रता पाउने बताउनुभयो ।

देशमा लामो समयदेखि कायम रहेको संक्रमणकालीन अवस्था अन्त्य हुने विचार व्यक्त गर्दै उहाँले वाम गठबन्धनको सरकारले देश र जनतालाई समृद्ध बनाउन भौतिक पूर्वाधार, यातायात, पर्यटन क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

जनताले निर्वाचनमार्फत प्रकट गरेको नयाँ जनादेशबाट उनीहरुले परिवर्तन चाहेको बताउँदै वाम गठबन्धनप्रति उनीहरुको ठूलो विश्वास रहेकाले उनीहरुले परिवर्तनको अनुभव हुने गरी कार्य गर्नुपर्ने बताउनुभयो ।

नेपाली काँग्रेस प्रतिपक्षको भूमिकामा रहेर रचनात्मक सहयोग गर्नुपर्ने बताउँदै आफूहरुले काँग्रेसलाई साथमा लिएर राष्ट्र निर्माणमा अगाडि बढ्ने प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *