लोकतान्त्रिक हुन नसकेको नेपाली काँग्रेस

‘ठूटे नेता हैन, वीपी, गणेशमान, कृष्णप्रसाद जस्ता त्यागी राजनेता जन्मिन आवश्यक छ । ‘हामी भित्र म सबै अट्ने देश सबैलाई जोड्ने काँग्रेस’ बनाउन कांग्रेसीलाई एक बनाउन जरुरी छ’

केशव सापकोटा
राष्ट्रियता लोकतन्त्र, समाजवाद पछिल्लो चरणमा नेपाली काँग्रेसले बोकेको नारा हो । २०६६ सालमा संसोधित विधानले देशको राजनीतिक परिवर्तनलाई स्विकार्ने काम त ग¥यो । तर, पार्टी भित्र अहिलेसम्म कार्यकर्ताले लोकतन्त्रको अनुभूत गर्न सकेका छैनन् ।
पार्टीले स्थानीय निर्वाचनका लागि जिल्ला क्षेत्रलाई उम्मेदवार छनौट गर्ने अधिकार दिएपनि पूर्णरुपमा लागू गर्न सकेन । कार्यकर्तालाई एकताबद्ध बनाएर चुनावी मैदानमा उत्रनुपर्नेमा केन्द्रीय तहदेखि नै दलका नेताहरूले गुट सृजना गर्दा पार्टी जनमत सृजना गर्न असफल बन्दै गएको छ ।
पार्टीले स्थानीय निकायको उम्मेदवार छनौटमा जनचाहना र पार्टीको विधान अनुसार निर्णय गर्न सकेन । यसको एउटा उदाहरण प्रदेश नं. १ सुनसरीको इटहरी उपमहानगरपालिका र धरान उपमहानगर पालिकाको ‘टिकट’ वितरणलाई लिन सकिन्छ । जुन सडकमा आइसकेको छ ।
प्रदेश नं. १ सुनसरीका दुई उपमहानगर पालिकाको उम्मेदवार छनौट प्रक्रियामा पार्टीले सही निर्णय लिन नसक्दा पार्टीमा वर्षौदेखि आस्था राख्ने क्रियाशील कार्यकर्ताहरू विचलित भएका छन् ।
विऊ रोप्ने पौडेल फल खाने प्रसाई
इटहरी उपमहानगरपालिकामा नगर सभापति हेमकर्ण पौडेल काँग्रेसका यस्ता नेता हुन् जसलाई एमाले राप्रपा र माओवादी समेतले स्विकारेका थिए । राजनीतिमा पौडेलले काँग्रेस बाहेक केही सोचेनन् । पौडेलको पछिल्लो समय सामाजिक, राजनीतिक सक्रियता लोभ लाग्दो छ । र, यही धरातल देखेर नै यस पटकको निर्वाचनमा एमालेको ‘लालकिल्ला’ तोडिने विश्वास काँग्रेसमा थियो । तर, पार्टी भित्रको चरम गुटबन्दी र केही व्यक्तिगत स्वार्थ बोकेकाहरुको चलखेलले यस पटकपनि लालकिल्ला तोड्न नसकिने भएको छ । अहिले इटहरीका धेरै कांग्रेसीहरु ‘विऊ रोप्ने पौडेल, फल खाने प्रसाई’ भन्दै ‘नो भोट’को नारा लगाउँदै हिड्न थालेका छन् ।
भवानी राणाको चलखेल
पौडेल–प्रसाई चलखेलमा सबैभन्दा बढी खेल उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणाले खेलेकी छिन् । जेठ ३१ गतेको निर्वाचनको मिति जसै स¥यो राणाले चलखेल गरेर आफ्ना केन्द्रीय सदस्य रोहित प्रसाईलाई अगाडी सारिन् । पौडेलको उम्मेदवारी सुनिश्चित हुँदाहुँदै एकाएक प्रसाईलाई टिकट दिनुमा महासङ्घकी अध्यक्ष भवानी राणाले पार्टी सभापति शेरवहादुर देउवाकी श्रीमती डा. आरजु राणालाई हातमा लिइन र, प्रसाईका पक्षमा खुलेरै सपोर्ट गरिन् ।
यससँगै देउवा पक्षधर प्रसाईले पौडेलको विगतको ‘दुर्गा अधिकारी काण्ड’लाई केन्द्रीय समितिमा लगेर समेत आफ्नो पक्षमा निर्णय गराए ।
प्रसाईले जित्दाको फाइदा
इटहरी नेकपा एमालेको ‘लालकिल्ला’ हो । यदि प्रसाईले चुनाव जितिहाले एमालेको ‘लालकिल्ला’ भत्काएर इतिहास लेख्छन् । भने, उद्योगी व्यापारीका लागि सुनौलो अवसर समेत निर्माण गर्न सक्छन् । महासङ्घको केन्द्रीय तहमा भएकाले इटहरीलाई व्यापारिक क्षेत्र बनाउन उनले लविङ गर्नसक्छन् । उनीसँग व्यापारी वर्गको ठुलो समर्थन पनि छ । पछिल्लो समय इटहरी पूर्वकै व्यापारिक हब बन्ने क्रममा छ । उनले सही योजना ल्याउन सके इटहरी प्रदेशको राजधानीसँगै व्यापारिक हब पनि बन्नेछ ।
के प्रसाईको जीत सुनिश्चित छ ?

‘यहाँ नीति र सिद्धान्त नै नमिलेकाहरु बिच सहकार्य र एकता हुन्छ भने पौडेल–प्रसाईको झगडालाई ‘……परालको आगो’ बनाएर जानु श्रेयकर हुन्छ’

यदि पौडेल–प्रसाई बिचको जुहारी सतहमा नआएको भए ‘लालकिल्ला’ तोड्न सहज हुन्थ्यो । तर, काँग्रेस भित्र ‘काल पल्कि सक्यो’ । प्रसाई–पौडेल पक्षधर बिच तुष जाग्रित भईसक्यो । अब बाहिरी आवरणमा दुवैले ‘नमस्कार’ गरे पनि भित्रभित्रै ‘धारेहात’ लगाउन थालिसके । यसको उदाहरण विगतमा सुनसरी क्षेत्र नं. १ को संविधानसभा निर्वाचनमा काँग्रेस भित्रको गुट उपगुट र अन्र्तघातलाई लिन सकिन्छ ।
आफ्नै पार्टीका ७० प्रतिशत नेता कार्यकर्ताको मन दुखाएर पाएको टिकटले काँग्रेसको चारतारे झन्डा फरहराउन अब प्रसाईलाई त्यत्ति सजिलो छैन । बलियो प्रतिपक्षी (एमाले)ले  कमजोर उम्मेदवार उठाएपनि ‘घरभित्रको रडाँको’ले काँग्रेसलाई सिध्यायो । तथापि, ‘राजनीतिमा स्थायी शत्रु र स्थायी मित्रु कोही पनि हुन्न ।’ यहाँ नीति र सिद्धान्त नै नमिलेकाहरु बिच सहकार्य र एकता हुन्छ भने पौडेल–प्रसाईको झगडालाई ‘……परालको आगो’ बनाएर जानु श्रेयकर हुन्छ । प्रसाई व्यापारमा जतिसुकै सफल भए पनि राजनीतिमा हुन सकेका छैनन् । उनी नेपाल विद्यार्थी सङ्घ सुनसरीको सभापतिभन्दा माथि जान सकेनन् । काँग्रेसको क्रियाशील सदस्यता लिएर त्यही राजनीति प्रयोग गर्दै पूर्वकै कहलिएका व्यापारी भने हुन सफल भए । उनी इटहरी उद्योग वाणिज्य सङ्घको दुई कार्यकाल अध्यक्ष भएर हाल महासङ्घको केन्द्रीय तहमा भए पनि काँग्रेसको राजनीतिमा कमजोर नै छन् ।
फाइदा कसलाई ?

‘पौडेल–प्रसाई बिचको अन्र्तद्वन्द्वले सबैभन्दा बढी फाइदा नेकपा एमालेलाई हुने देखिन्छ’

इटहरीमा पौडेल–प्रसाई बिचको अन्र्तद्वन्द्वले सबैभन्दा बढी फाइदा नेकपा एमालेलाई हुने देखिन्छ । काँग्रेसमा पौडेललाई निर्विकल्प उम्मेदवार भनेर पहिला जसरी प्रचार गरियो । त्यसले एमालेमा ठुलो चिन्ता थियो । पौडेल प्रति जनताको विश्वासले एमालेले जस्तै बलियो उम्मेदवार खडा गरे पनि चुनाव जित्न गाह्रो हुने देखेको थियो । एमालेबाट द्वारिकालाल चौधरीको नाम सार्वजनिक भएको छ । उनी एमालेका त्यागी नेतामा गनिन्छन् । मुलुकको चौथो दल माओवादी केन्द्रको सङ्गठन छिन्न–भिन्न छ । बैद्य माओवादी, विप्लब माओवादी र बाबुराम भट्टराईको नयाँ शक्ति । चार चिरा परेको हसिया हतौडालाई जोड्न माओवादी केन्द्रलाई गाह्रो छ । ऊ काँग्रेस, एमालेभित्र खेलेर सत्ता साझेदार काँग्रेस वा अन्य साना दलसँग तालमेल गरेर जाने रणनीतिमा छ ।
किशोर राई–तिलक राई
धरान काग्रेसलाई कसले पछा¥यो भनेर कसैले सोध्छ भने गैरकांग्रेसीले समत भन्ने गरेका छन् । ‘अन्र्तघात’ ०५४ सालको स्थानीय निकाय, ०७० सालको दोस्रो संविधान सभा । यी सबैमा काँग्रेसले जित्ने अवस्था रहँदा रहँदै हारेको छ । र यसको मूल कारण पार्टी भित्रको आन्तरिक कलह नै हो । धरानमा काँग्रेसका किशोर राई र तिलक राई बिच आन्तरिक कलह नै छ । पार्टीको महाधिवेशन पछि यी दुई बिचको अन्र्तसम्बन्ध केही मथ्थर भए पनि भित्री रूपमा अझैपनि एकले अर्कोलाई पछार्ने सोच हाबी छ । धरानमा काँग्रेस भित्र ‘हामी भित्र म सबै अट्ने देश सबैलाई जोड्ने काँग्रेस’ भन्ने भावना जागृत हुन सकेको छैन । र, यसको कारण भनेकै पौडेल, सिटौला, देउवा जस्ता गुटबन्दी नै हो ।
तिलक राईलाई सहज छ ?
धरानमा यस पटक पनि किशोर राई र तिलक राई बिच उम्मेद्वारका विषयमा राम्रै अन्र्तद्वन्द्व देखिएको छ । केन्द्रीय समितिले तिलक राईलाई टिकट दिएपछि किशोर राई यति बेला दलबल सहित बुढानिलकण्ठमा ‘लविङ’का लागि आएका छन् । उनलाई केन्द्रीय समितिले सम्झाउन सके फाइदा होला नत्र फेरी पुरानै परिदृश्य दोहोरिनेछ । धरान काँग्रेसमा बाहिर मिलेजस्तो गर्ने भित्रभित्रै एकअर्कालाई सिध्याउने खेल सुरु हुनेछ । जसले काँग्रेसलाई धरानमा चारतारे भण्डा फरह¥याउन २० वर्ष लाग्नेछ ।
अन्तमा,
जब ०५९ सालमा शेरबहादुर देउवाले तत्कालीन पार्टी सभापति स्व. गिरिजा प्रसाद कोइरालासँगको ‘टसन’मा पार्टी टुक्राए, त्यहाँदेखि पार्टीभित्र गुट उपगुट सृजना भयो । पार्टीको तल्लो तहदेखि माथिल्लो तहसम्म विभाजित भयो । पहिलो संविधानसभा चुनाव अघि विभाजित काँग्रेस एक बन्यो । काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र देउवाले नेतृत्व गरेको काँग्रेस (प्रजातान्त्रिक) बिच एकीकरण भए पनि कार्यकर्ता भावानात्मक रूपमा एक हुन सकेनन् । त्यसैको असर यसपटकको स्थानीय निर्वाचनमा देखिएको हो ।  तत्कालीन पार्टी सभापति स्व. गिरिजा प्रसाद कोइरालाको अवसान पछि पार्टीमा रामचन्द्र पौडेल, शेरबहादुर देउवा, कृष्ण सिटौला जस्ता नेताका गुट–उपगुट जन्मिए । नातावाद, कृपावादको राजनीति सुरु भयो । र, यही गुट–उपगुटको राजनीतिले मुलुककै पुरानो पार्टीलाई छिन्नभिन्न बनायो ।
जवसम्म पार्टीले स्थानीय तहमा कार्यकर्ताहरूलाई एक ढिक्का बनाउन सक्दैन, जबसम्म नाताबाद, कृपावादको राजनीति हुन्छ, जबसम्म राम्रालाई हैन हाम्रालाई काखी च्याप्ने काम हुन्छ तब सम्म विजय सुनिश्चित छैन । स्थानीय निकायको निर्वाचनमा पार्टीले भोगेको पराजयको कारकतत्व यही हो । इटहरी उपमहानगरपालिकाको दृष्टान्त एउटा उदाहरण मात्र हो । देशभरि कांग्रेसीलाई एउटै चारतारे झण्डामुनी अटाउने विशाल छहारी बनाउन आवश्यक छ । त्यसका लागि ठूटे नेता हैन, वीपी, गणेशमान, कृष्णप्रसाद जस्ता त्यागी राजनेता जन्मिन आवश्यक छ । ‘हामी भित्र म सबै अट्ने देश सबैलाई जोड्ने काँग्रेस’ बनाउन कांग्रेसीलाई एक बनाउन जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + four =