कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी



असोज ३१, जुम्ला । नेपाल सरकारद्धारा स्वास्थ्य सेवामा तहगत मिलान गर्नका लागि कर्मचारी समायोजन विधेयक पारित गरेको अवस्थामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीले विधेयकलाई नै ओझेलमा पारेको भन्दै प्रतिष्ठानमा तालाबन्दी गरेका छन् । प्रतिष्ठानमा तेस्रो तहमा कार्यरत स्वास्थ्यकर्मिहरुले चौथो तहमा बढुवा हुनुपर्ने माग राख्दै अनिश्चितकालिन तालावन्दी गरेपछि प्रतिष्ठान अस्तब्यस्त भएको छ ।
आफ्नो दक्षता र योग्यताको अपमान गर्दै स्वास्थ्यकर्मिहरुको सेवा सुविधाप्रति पदाधिकारीहरुले चासो नदिएको भन्दै स्वास्थ्यकर्मिहरुले सोमबारदेखि प्रतिष्ठानमा अनिश्चितकालिन तालावन्दी गरेको बताएका छन् ।
प्रतिष्ठानको प्रशासन शाखामा गरिएको तालाबन्दीका कारण प्रतिष्ठानको सेवा प्रभावित भएको छ । तालावन्दी गरेका कर्मचारीहरुले प्रतिष्ठानले माग सम्बोधन नगरेसम्म तालावन्दी नखोल्ने अडान लिएका छन् ।

प्रतिष्ठान तालाबन्दी हुँदा आकस्मिक सेवा बाहेक अन्य सबै सेवा ठप्प भएका छन् । तालाबन्दीपछि जारी प्रेस विज्ञप्तिमा तह ३ का कर्मचारी मिलानको विषयलाई सिनेटको बैठकले सम्बोधन नगरेकोप्रति आक्रोस व्यक्त गरिएको छ ।
जारी गरेको विज्ञप्तिमा प्रतिष्ठानमा स्थापना कालदेखि कार्यरत अहेब, अनमि, ल्याब असिष्टेन्ट लगाएतका तेस्रो तहका कर्मचारीहरूको भावना माथि सिनेट र पदाधिकारीहरुले खेलवाड गरेको आरोप लगाइएको छ । कर्मचारीहरुले प्रतिष्ठानका लागि अहोरात्र खटेर सेवा दिँदै आएपनि व्यवस्थापनबाट राज्यले तोकेको सेवा सुविधा समेत नदिएको आरोप लगाएका छन् । उनीहरूले प्रतिष्ठानका पदाधिकारीलाई पटक पटक सेवा सुविधाका विषयमा कुरा गर्न छलफल चलाउँदा पनि बेवास्ता गरेपछि बाध्य भएर आन्दोलनमा उत्रनु परेको जिकिर गरेका छन् ।
प्रतिष्ठानको केही दिन अघि बसेको सिनेट बैठकमा आफ्ना एजेण्डा प्राथमिकतामा नपरेको भन्दै आकस्मिक सेवा बाहेक अन्य सेवा ठप्प हुने गरी तालावन्दी गरिएको मेडिकल रेकर्डर धन बहादुर शाहीले बताए ।
उनले प्रतिष्ठान प्रशासनलाई आफ्ना मागका सन्दर्भमा २४ घन्टाको अल्टिमेटम दिँदा पनि प्रशासन उदासिन देखिएको भन्दै माग पुरा नभएसम्म तालाबन्दी नखोल्ने शाहीले बताए । प्रतिष्ठानमा तह ३ मा ३८ जना बढी कर्मचारी रहेका छन् ।
आन्दोलित कर्मचारीहरुले सिनेट बैठकले प्रतिष्ठानको नियमावली २०६९ विपरीत कार्य गरिरहेको समेत आरोप लगाएका छन् । उनीहरूले विज्ञप्ति जारी गर्दै नेपाल सरकारद्धारा स्वास्थ्य सेवामा तहगत मिलान गर्नका लागि कर्मचारी समायोजन विधेयक पारित भइसकेको अवस्थामा तेस्रो तहका कर्मचारी स्वतः चौथो तहमा बढुवा हुने भए पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सो विधेयकलाई ओझेलमा राख्दै कर्मचारीको हित विपरीत कार्य गरेको उल्लेख गरेका छन् ।

तालाबन्दीका विषयमा प्रतिष्ठानका कार्यालय सचिव चेतबहादुर रोकायाले तेस्रो तहमा रहेका कर्मचारीहरूलाई नेपाल सरकारको नियमावली अन्र्तगत स्वतः चौथो तहमा बढुवा गर्ने प्रावधान भए पनि प्रतिष्ठानको आफ्नै नियमावली भएकोले कर्मचारीले उठाएका मागहरू कसरी सम्बोधन गर्ने विषयमा पदधिकारीहरुको छलफल भइरहेको बताए । उनले प्रतिष्ठानको नियमावलीले ३ वर्ष काम गरिसकेका योग्यता पुगेका कर्मचारीका हकमा चौथो तहमा बढुवा गर्न सकिने भनेको भन्दै तीन वर्ष नपुगेका हकमा के गर्ने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिए ।
खरिद इकाईको अध्यक्षमा स्वयम् रजिष्ट्रार
कर्णाली स्वास्थ्य प्रतिष्ठानको खरिद इकाईको अध्यक्षमा स्वयम् रजिष्ट्रार बसेका छन् । विगतमा खरिद समितिको अध्यक्षमा प्रतिष्ठानमा मेडिकल डाइरेक्टर रहने प्रावधान रहेपनि उक्त नियमावलीलाई मिच्दै रजिष्ट्रार विश्वराज काफ्ले आफैँ समितिको अध्यक्षमा बसेका हुन् । प्रतिष्ठानको आर्थिक स्वीकृति र भुक्तानी गर्ने अधिकार रजिष्ट्रारमा रहेको छ । एउटै व्यक्ति खरिद समिति र आर्थिक स्वीकृतिमा रहन सक्ने प्रावधान कहीँ छैन । ‘रजिष्ट्रार आफैँ समितिमा रहनु भनेको गलत हो । एउटै व्यक्ति खरिद समिति र स्वीकृत समितिमा रहने व्यवस्था कतै छैन । यहाँ रजिष्ट्रारले गलत नजिर बनाउँदैछन् ।’ प्रतिष्ठानमा कार्यरत एक कर्मचारीले बताए ।
पदाधिकारी कमाउ धन्दामा
प्रतिष्ठानका लागि गत आर्थिक वर्षका लागि जापान सरकारबाट उपकरण खरिदका लागि दुई करोड रुपैंया सहयोग आएकोमा रजिष्ट्रार र अस्पताल निर्देशकले प्रतिष्ठानको केन्द्रीय कार्यालयका कुनै पनि कर्मचारी र पदाधिकारीलाई थाहै नदिई सम्पर्क कार्यालयबाट उक्त उपकरणहरू खरिद गरेका छन् । उनीहरूले मेडिकल उपकरण सप्लायर्ससँगको मिलेमतोमा २० प्रतिशत कमिसन खाएर उपकरण खरिद गरेको स्रोतको दाबी छ । यो विषयमा प्रतिष्ठानमा अस्पताल निर्देशक धर्मराज गोसाईसँग जानकारी लिनका लागि फोन गर्दा सम्पर्क हुन सकेन ।
जुम्ला जाँदैनन् पदाधिकारी
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी अधिकांश समय ललितपुरको सम्पर्क कार्यालयमा बस्ने गरेका छन् । प्रतिष्ठानमा उपकूलपति डा. राजेन्द्र वाग्ले, शिक्षाध्यक्ष डा. धर्मराज श्रेष्ठ, रजिष्ट्रार इ. विश्वराज काफ्ले लगायतका पदाधिकारी महिनामा मुस्किलले दुई चार दिन जुम्ला पुग्ने गरेका छन् । उनीहरूले प्रतिष्ठानको अधिकांश प्रशासनिक काम सम्पर्क कार्यालयबाट गर्ने गरेका छन् । पदाधिकारीहरू नियमित रूपमा प्रतिष्ठानमा नजाँदा प्रतिष्ठानको स्वास्थ्य सेवामा समेत प्रभावित भएको एक प्राविधिकले बताए । ‘सरहरु कहिले काहीँ आउनुहुन्छ । नियमित नहुँदा कर्मचारी र स्वास्थ्य कर्मीहरुले मनपरी गर्छन् ।’ उनले भने ।
एक वर्षमा शून्य काम
प्रतिष्ठानमा नयाँ पदाधिकारी आएको एक वर्ष भईसक्दा अहिलेसम्म प्रतिष्ठानको विकास र विस्तारका लागि सिन्को भाचिएको छैन । प्रतिष्ठानले एमविविएसको शैक्षिक कार्यक्रम चलाउने भनेर एक वर्ष भईसक्दा पनि अहिलेसम्म कुनै काम गरेका छैनन् । ‘पहिलाको कार्य समितिले ३ सय वेडको अस्पताल भवन बनाउने बाहेक नयाँ कुनै काम भएका छैनन् ।’ एक कर्मचारीले बताए । प्रतिष्ठानमा अधिकांश पदाधिकारी सम्पर्क कार्यालयमा बस्दा पनि पूर्वाधार निर्माण र सेवा विस्तारमा समस्या देखिएको हो । पदाधिकारीहरूकाे कार्यशैली प्रति प्रतिष्ठानका सहकूलपति तथा स्वास्थ्यमन्त्री गिरीराजमणी पाेखरेल समेत दिक्क भएका छन् । उनले प्रतिष्ठानका पदाधिकारीलार्इ बारम्बार नतिजा निस्कने गरी काम गर्न अाग्रह गरेपनि पदाधिकारीहरू सुस्त भएका छन् ।
