सरकारले तोकेका प्रदेश प्रमुख ओलीले नमान्ने


काठमाडौं, माघ ४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेशको अस्थायी मुकाम र प्रदेश प्रमुखमा वाम गठबन्धनको सहमति नरहेको बताएका छन् । नियमित स्वास्थ्य परीक्षण गरेर थाइल्याण्डको बैंककबाट स्वदेश फिर्ता भएका अध्यक्ष ओलीले प्रदेश प्रमुख र स्थानबारे ‘उपयुक्त निर्णय’ लिइने दाबी गरे ।
सरकारले बुधबार तोकेको प्रमुख र राजधानीको विषयमा उपयुक्त समयमा निर्णय लिने भन्दै उनले भने, ‘सरकारले ढिलै भएपनि अस्थायी मुकाम तोकेर अप्ठ्यारो फुकाएको छ । तर प्रदेशको राजधानी तोक्ने अधिकार प्रदेशसभालाई छ । यस विषयमा अनुकुलता, आवश्यकता र सम्भावनालाई हेरेर उपयुक्त समयमा निर्णय गरिन्छ।’
सरकारले ढिला गरी प्रदेशको अस्थायी मुकाम र प्रदेश प्रमुख तोक्नु स्वागतयोग्य भए पनि नाउँ र ठाउँका विषयमा आफूहरूको कुनै सहमति नभएको जिकिर गरेका हुन् ।
उनले प्रदेशको अस्थायी मुकाम तोकेको विषयमा आन्दोलन भइरहेकाप्रति लक्षित गर्दै सरकारको हातबाट जनप्रतिनिधिका हातमा गएको भन्दै सम्बन्धित प्रदेशसभाले यसको निक्र्योल गर्ने धारणा व्यक्त गरे । “यो प्रदेशसभाको हातमा गइसकेको छ,” आन्दोलनप्रति उनले लक्षित गरे ।
