“जान्छु भन्दा, फर्केर आउ बाबु भन्नु भयो त्यतिबेला रोए” : सागर पुन

सागर पुन गत साता काठमाडौँमा सम्पन्न प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उत्कृस्ट खेलाडी घोषित भएका थिए । त्रिभुवन आर्मी क्लबका खेलाडी सागर पुनले अनुरुप वृद्धाश्रमलाई सहयोग घोषणा गरेका थिए ।
पुनले पशुपति वृद्धाश्रममा रहेका १९० जना बृद्ध-वृद्धाहरुलाई झन्डै ३० हजार रुपैया बराबरको सहयोग गरे । उनले उत्कृष्ट खेलाडी भए बापत १ लाख रुपैयाँ पुरस्कार पाएका थिए जुन क्रममा २५ प्रतिशत रकम दान गर्ने घोषणा गरेका थिए ।
पुनले आश्रममा १९० जनालाई फलफुल, जुस, चाउचाउ, बिस्कुट प्रदान गरे । त्यसक्रममा उनले वृद्ध-वृद्धाहरुसंग कुराकानी समेत गरेका थिए ।
सहयोग कार्यक्रमपछि बिदा माग्दा एकजना वृद्धाले दिनुभएको जवाफले आफु भावुक बन्न पुग्दा आँखाबाट आँसु रोक्न नसकेको पुनले बताउनु भयो ।
“जान्छु भन्दा, फर्केर आउ बाबु भन्नु भयो त्यतिबेला रोए”
“पहिले नगद नै सहयोग गर्ने विचार गरेको थिएँ तर नगद दिंदा त्यसको दुरुपयोग हुने सम्भावना हुने कुरा आएपछि त्यसको सट्टा अन्य सामग्रीहरु दिएको हुँ । राम्रो पनि देखिने र सबैजनाले पाउनु पनि हुने देखियो । वृद्धाश्रममा १९० जना हुनुहुँदो रहेछ र पैसा भन्दा केहि लिएर जाने निर्णय गरेर गएको हुँ ।”
नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर पुनले पैसा भन्दा मानिसले गर्ने कर्म महत्वपूर्ण भएको बताउनु भयो, “कामले महत्व राख्छ, पैसा त मात्र कागज हो”
राष्ट्रिय क्रिकेट टिमका नियमित अलराउन्डर पुनले सहयोग कार्यक्रमलाई सफल बनाउन छुम्बी लामा, खेलाडी साथी राजेश पुलामी र सोमपाल कामी , आफ्नो भाई संगम र क्राउन प्लाजा होटलका खेम सरलाई धन्यवाद दिए ।
सन् २०१३ मा नेपाली राष्ट्रिय क्रिकेट टिमको लागि खेलेका पुनले प्रधानमन्त्री कप प्रतियोगितामा ब्याटिंग तर्फ १२६ रन तथा बलिंग तर्फ सर्बाधिक १४ विकेट हात पारेका थिए । पुनसंगै आर्मी क्लबका क्रिकेटर सोमपाल कामी, राजेश पुलामी सहयोग कार्यक्रममा उपस्थित रहेका थिए ।
WicketNepal को सहयोगमा












