जस्लाई सिंहदरबार पानीपधेरो !

“
किशोर खनाल
भरतपुर,मंसिर २५ । यसपटकको चुनावको परिणामले चितवनका तीन शीर्ष नेतालाई फेरि सिंहदरबार पस्ने बाटो खुला गरिदिएको छ । चितवनमा प्रतिनिधिसभातर्फ ३ वटा क्षेत्र छन् । ३ वटा क्षेत्रमा बाम गठबन्धनले जितेको छ । ३ वटा क्षेत्रमा जितेका नेताहरु यसअघि पनि सिंहदरबार छिरेका थिए । फेरि पनि उनीहरु नै सिंहदरबार छिर्ने मौका पाएका छन् । उनीहरुलाई सिंहदरबार पानी पधेरोजस्तो भएको छ ।
चितवन क्षेत्र नम्बर ३ बाट जितेका पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तेस्रो पटक सिंहदरबार छिर्ने अवसर पाएका छन् । उनी यसअघि २०६४ सालमा रोल्पा र काठमाडौँबाट २०७० सालमा सिरहाबाट विजयी भएर सिंहदरबार छिरेका थिए । अहिले उनी आफ्नो गृहजिल्ला चितवनको क्षेत्र नम्बर ३ बाट विजयी भएर सिंहदरबार छिर्ने अवसर पाएका छन् । उनी अहिलको विजयीसँगै तेस्रोपटक सिंहदरबार छिर्दैछन् ।
झण्डै १३ वर्ष भूमिगत जीवन बिताएका प्रचण्डले २०६२÷६३ को जनआन्दोलनपछि खुला राजनीतिमा आएका हुन् । उनी दुईपटकसम्म प्रधानमन्त्री भएका थिए । उनी प्रधानमन्त्री हुँदा झण्डै २० वर्षपछि स्थानीय तहको चुनाव सम्पन्न भएको थियो । २०११ साल मंसिर २६ गते कास्की जिल्लाको ढिकुरपोखरीमा पिता मुक्तिराम दाहाल र माता भवानीदेवी दाहालको कोखबाट ज्येष्ठ पुत्रका रूपमा जन्मेका प्रचण्ड तेस्रो पटक सिंहदरबार छिर्ने भाग्यमानी नेता हुन् ।
त्यस्तै, चितवन क्षेत्र नम्बर १ बाट विजयी भएर फेरि पनि सिंहदरबार छिर्ने अवसर पाएका अर्का नेता हुन् सुरेन्द्र पाण्डे । उनी यसअघि पनि चितवन क्षेत्र नम्बर १ बाटै विजयी भएर सिंहदरबार छिरेका थिए । फेरि पनि उनले सिंहदरबार छिर्ने मौका पाएका छन् । सुरेन्द्र पाण्डे माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा अर्थमन्त्री भएका थिए । सफल अर्थमन्त्रीको रुपमा उनले आफूलाई उभ्याउन सफल भएका थिए ।
पञ्चायती शासनकालमा १० वर्ष भूमिगत जीवन बिताएका कर्मठ शालीन नेता सुरेन्द्र पाण्डे हाल पार्टी स्थायी कमिटी सदस्य हुन् । २०५६ सालको संसदीय निर्वाचनपछि राष्ट्रिय सभाको सदस्य बनेका पाण्डे २०६४ सालमा संविधानसभामा नेकपा एमालेका तर्फबाट समानुपातिकबाट सभासद् बनेका थिए । २०५४ देखि ०६० सम्म राष्ट्रियसभाको सदस्य भई चितवनको क्षेत्र नं १ मा विकास निर्माणमा निरन्तर कार्य गरिरहेका पाण्डेले ०५६ देखि ०६० सम्म राष्ट्रियसभाको प्रमुख सचेतक भई सदन सञ्चालनमा महत्वपूर्ण योगदान दिएका थिए ।
चितवन क्षेत्र नम्बर २ बाट विजयी भएका अर्का नेता कृष्णभक्त पोख्रेल पनि दोस्रो पटक सिंहदरबार छिर्दै छन् । यस अघि उनी चितवन क्षेत्र नम्बर ३ बाट विजयी भएर सिंहदरबार छिरेका थिए । कृष्णभक्त पोख्रेल दोस्रो पटक सिंहदरबार छिर्ने भाग्यमानी नेता हुन् । उनी नेकपा एमालेका जिल्ला अध्यक्षसमेत हुन् । उनी पहिलोपटक सिंहदरबार छिर्दा संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए । उनी यसअघि चितवनका चर्चित कानुन व्यवसायी थिए ।
२०२४ साल असार २० गते पार्वतीपुरमा जन्मेका कृष्णभक्त भरतपुर–१० निवासी हुन् । केन्द्रीय नेताको रुपमा दरिने प्रयास गरिरहेका कृष्णभक्तले आफ्नो छुटै पहिचान बनाएका छन् । लामो रस्साकस्सीपछि चितवन २ बाट टिकट पाएका कृष्णभक्त दोस्रो पटक सिंहदरबार छिर्ने मौका पाए । नेपाल ल क्याम्पस काठमाडौँबाट कानुनमा स्नातकोत्तर गरेका पोख्रेल विद्यार्थी जीवनदेखि नै राजनीतिमा होमिएका थिए । उनी यसअघि बार एसोसिएसनको चितवन जिल्ला अध्यक्षसमेत भए । ‘फेरि पनि तीन नेतालाई जनताले सिंहदरबार त पठाए, तर उनीहरुले सिंहदरबार छिरेर केकस्तो काम गर्छन् त्यो हेर्न भने बाँकी छ’ भरतपुर २५ का मतदाता दीपक खनालले भने, ‘सिंहदरबार छिर्नको लागि मात्रै हो, भने त्यो अर्थ छैन तर विकासको लागि उनीहरु सिंहदरबार छिरेका हुन् भने त्यसको विशेष अर्थ हुन्छ ।’
“








