संसदीय चुनावमा सत्तारुढ कन्जरभेटिव पार्टीले बहुमत गुमायो

बेलायतमा संसदीय चुनावमा सत्तारुढ कन्जरभेटिव पार्टीले तीन सय १८ सिटमा जित निकाल्दै सबै भन्दा ठूलो पार्टी बनेको छ तर उसले संसदमा रहेको बहुमत भने गुमाएको छ ।

बिहीबार भएको संसदीय चुनावको अन्तिम मतपरिणा आइसक्दा कन्जरभेटिव पार्टीले कुल ६ सय ५० सिट मध्ये तीन सय १८ मा जित निकालेको हो । बहुमतका लागि तीन सय २६ सिटमा जित निकाल्नु पर्ने थियो तर मत पुगेन । कन्जरभेटिव पार्टीले सन् २०१५ को आम चुनावमा तीन सय ३१ सिटमा जित निकालेको थियो ।
लेबरपार्टीले यो चुनावमा दुई सय ६२ सिटमा जित हात पारेको छ । यस्तै एसएनपीले ३५, लिवरल डेमोक्र्याटिक पार्टीले १२, डेमोक्र्याटिक युनियनिस्ट पार्टी (डियुपी) ले १० तथा अरु विभिन्न दलले १३ सिटमा जित निकालेका छन् ।

यो चुनावमा प्रधानमन्त्री थिरेसा मेको पार्टी कन्जरभेटिवले १३ सिट गुमायो भने प्रमुख प्रतिपक्षि दल लेबर पार्टीले अघिल्लो चुनावमा भन्दा ३० सिट बढी जित्यो । यसै बीच प्रधानमन्त्री मे ले डियुपीसँग मिलेर सरकार बनाउने बताउनु भएको छ । बहुमत ल्याउन चुके पनि आफ्नो पार्टीले नै बेलायतको नेतृत्व गर्ने उहाँले बताउनुभयो । आफ्नै नेतृत्वमा ब्रेजिक्टको विषय टुंग्याउने उहाँको भनार्इ थियो ।








