यी हुन् कन्फेडेरेसन कपका ५ उत्कृष्ट खेलाडी

एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गत आइतबारका खेलसँगै समूह चरणका सम्पूर्ण खेलहरु समाप्त भैसकेका छन् । सेमिफाइनल समिकरण पुरा भएसँगै अर्को चरणमा प्रवेश गर्ने चारै टोली तयारीमा जुटिसकेका छन् ।

समूह ‘ए’बाट पोर्चुगल र मेक्सिकोले सेमिफाइनलमा स्थान बनाए भने समूह ‘बी’बाट जर्मनी र चिली दोश्रो चरणमा पुगेका छन् । सेमिफाइनलमा जर्मनीले मेक्सिकोसँग खेल्नेछ भने पोर्चुगलले चिलीको सामना गर्दैछ ।

समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेका ५ खेलाडीहरुको नाम यसप्रकार छ:

५. आन्द्रे सिल्भा:

पोर्चुगलका फरवार्ड आन्द्रे सिल्भाले जारी प्रतियोगितामा खेलेका ३ मध्य १ खेलमा गोल गरेका छन् । पहिलो खेलमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका सिल्भाले पछिल्ला २ खेलमा भने राम्रो प्रदर्शन गरेका छन् ।

४. टिमो वेर्नर

जर्मनीका युवा फरवार्ड वेर्नरले घरेलु लिगमा आरबी लेप्जिगका लागि प्रहार गरेको गोलको गतिलाई यहाँ पनि निरन्तरता दिएका छन् । पहिलो खेलमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका उनले राम्रो प्रदर्शन गरेपनि दोश्रो खेलमा विश्राम लिए । तेश्रो खेलमा क्यामरुनविरुद्ध २ गोल गरेका वेर्नर आशालाग्दा प्रतिभा हुन् ।

३. अलेक्सीस स्यान्चेज

पहिलो खेलमा चोटका कारण दोश्रो हाफमा मैदान प्रवेश गरेका स्यान्चेजले चिलीको पहिलो गोलमा असिस्ट दिएका थिए । दोश्रो खेलमा जर्मनीविरुद्ध गोल गर्दै चिलीका लागि सर्वाधिक गोलकर्ता बनेका स्यान्चेजले अन्तिम खेलमा अष्ट्रेलियाविरुद्ध पनि राम्रो प्रदर्शन गरेका थिए ।

२. लार्स स्टीन्डल

पहिलो खेलमा जर्मनीका लागि पाँचौ मिनेटमा गोल गरेका स्टीन्डलले चिलीविरुद्धको दोश्रो खेलमा स्ट्राइकरको भूमिका निर्वाह गर्दै जर्मनीका लागि बराबरी गोल गरेका थिए । तेश्रो खेलमा विश्राम पाएका स्टीन्डलले सिनियर खेलाडीको अनुपस्थितिमा जर्मनीका लागि आशातित प्रदर्शन गर्दै आएका छन् ।

१. क्रिस्टियानो रोनाल्डो

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले २ गोल र १ असिस्ट सहित पोर्चुगलको अपराजित यात्रामा राम्रो साथ दिएका छन् । पहिलो खेलमा करेज्मालाई असिस्ट दिएका रोनाल्डोले रसिया र न्युजील्याण्डविरुद्धको जितमा गोल गरेका थिए । यहि प्रदर्शनलाई जारी राख्दै रोनाल्डो यस प्रतियोगिताको गोल्डेन बुट जित्ने धुनमा रहनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 1 =