भैंसी विज्ञहरुको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न, अनुसन्धान केन्द्र स्थापना गर्ने निर्णय

मंसिर २, चितवन । चितवन जारी भैंसी विज्ञहरुको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन चार बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले राष्ट्रियस्तरमा भैंसी अनुसन्धानको सर्वोच्च केन्द्र बनाइ त्यस अन्तर्गत शाखाको रुपमा विभिन्न क्षेत्रमा ‘सेटेलाइट केन्द्र’ बनाउने निष्कर्ष निकालेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको स्नातकोत्तर कार्यक्रमका डिन डा भूमिनन्द देवकोटाले जानकारी दिए ।

उनका अनुसार सम्मेलनले गुणस्तरीय दूध उत्पादनका लागि थुनिलो रोग नियन्त्रण गर्न ‘एसियन मस्टाइटिस काउन्सिल’ स्थापना गर्ने, क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरमा भैंसी अनुसन्धानमा संलग्न संस्था तथा विश्वविद्यालयबीच साझेदारी र सहकार्यको विकास गर्ने निष्कर्ष निकालेको छ ।

भैंसीको अनुवांशिक गुण वृद्धिगरी उत्पादन बढाउने र पोषण, स्वास्थ्य तथा भंैसीको व्यवस्थापनका विषयमा सम्मेलन फलदायी भएको कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकूलपति डा आइपी ढकालले जानकारी दिए ।

यस्तै अन्तर्राष्ट्रिय भैंसी विज्ञ सम्मेलनको आयोजक राष्ट्रको हैैसियतले निकट भविष्यमा नै ‘एसियन बफेलो काँग्रेस’ आयोजना गर्नका लागि प्रस्ताव पेश गर्ने निष्कर्ष निकालिएको विश्वविद्यालयका उपप्राध्यापक निराजन भट्टराईले जानकारी दिए ।

सम्मेलनमा भैंसी उत्पादन, व्यवस्थापन, स्वास्थ्य, आनुशंशिक विकास, जैविक प्रविधि तथा नीतिगत विषयमा पाँचवटा विशेष, १४ वटा आमन्त्रित, २७ वटा मौखिक, ३३ वटा पोष्टर गरी ७९ वटा प्राविधिक कार्यपत्र प्रस्तुत भएको थियो ।

सम्मेलनमा नेपाल, भारत, चीन, पाकिस्तान, बंगलादेश, थाइल्याण्ड, फिलिपिन्स, अमेरिका, क्यानडा, इटालीका गरी करिब २०० विज्ञ, वैज्ञानिक तथा अनुसन्धानकर्ता र विद्यार्थीको सहभागिता थियो ।

कात्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म चितवनको सौराहामा भएको सम्मेलन कृषि तथा वन विज्ञान विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायको आयोजना तथा नेपाल सरकारको पशुसेवा विभाग, नार्क तथा मिचिगन स्टेट अफ युनिभर्सिटी अमेरिकाको सहआयोजनामा भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *